राष्ट्रपति भण्डारी बुधबार म्यान्मार जाँदै

असोज २८, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ बुधबारदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्ने भएकी छिन् ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्ने जनाइएको छ । राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्ने जनाइएको छ ।

म्यान्मारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ ।