नेपाल विद्युत् प्राधिकरणद्धारा स्मार्ट मिटरका लागि सर्वेक्षण शुरु

असोज १५, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताको घरमा स्मार्ट मिटर जडानका लागि सर्वेक्षण शुरु गरेको छ ।

प्राधिकरणले काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना अन्तर्गत पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रका करीब ९० हजार ग्राहकको स्मार्ट मिटर जडान गर्ने तयारी गरेको छ ।

स्मार्ट मिटर जडान भएपछि मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानुपर्ने हालको व्यवस्थाको अन्त्य भई टेलिफोन सेवामा जस्तै स्वचालित बिलिङ लागू हुनेछ । जसले गर्दा मिटर रिडिङको लागत घट्ने प्राधिकरणको विश्वास छ ।

रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका ग्राहकको स्मार्ट मिटर डिजाइन, आपूर्ति, जडान र सञ्चालनका लागि चिनियाँ कम्पनी पिङगाओ विज्डमको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।

सो कार्य आगामी वर्षको पुसभित्रमा सक्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ ।