प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुलाई भव्य आवास बन्दै, आज शिलान्यास हुने

असार १३, काठमाडौं – सरकारले सातवटै प्रदेशका प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरुलाई काठमाडौँमा सुविधासम्पन्न आवास बनाइदिने भएको छ। ललितपुरको सैंबु भैंसेपाटीमा बन्न लागेको आवासको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवास शिलान्यास गर्न लागेका हुन् ।

सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालका अनुसार उक्त आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ लाग्ने भएको छ ।

यो आवास दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ । केसी कन्सट्रक्सन तथा समानान्तर ज्वाइन्ट भेन्चरले सो भवन निर्माणको ठेक्का पाएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै गरी १४ वटा भवन बन्नेछन् ।

ललितपुरको सैंबुमा १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारी भइरहेको छ। यसका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भैंसेपाटीमा मन्त्री निवास, राष्ट्रिय सभा अध्यक्ष तथा उपाध्यक्षको आवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।

सरकारले हालै प्रधानमन्त्री निवास बालुवाटारमा र संघीय संसद भवन सिंहदरबारमा शिलान्यास गरिसकेको छ ।