अनुमति बिना इसेवामार्फत हवाई टिकट काटेमा कारबाही गरिने प्रदेश ५ को चेतावनी

असोज ९, काठमाडौं – प्रदेश नं ५ सरकारले ईसेवामार्फत हवाई टिकट काट्न प्रतिबन्ध लगाएको छ ।

प्रदेश ५ सरकारले एक सार्वजनिक सूचना जारी गर्दै ट्राभल तथा ट्रेकिङ एजेन्सी नखोली इ–सेवा लगायतका इ–टिकेटिङबाट हवाई टिकेटिङको कारोबार गरेको पाइएमा २० हजार जरिवाना सहित कारोवार बन्द समेत गराउने चेतावनी दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै प्रदेश नम्बर ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले अनुमति नलिइ इ–सेवाबाट हवाई टिकट काटी व्यवसाय गर्नेलाई कारबाही गर्ने जनाएको हो ।

प्रदेश ५ मा रहेका ट्राभल एण्ड ट्रेकिङ सम्बन्धि इजाजत नलिई विभिन्न व्यक्ति संघसंस्था वा फर्महरुले विभिन्न वायु सेवाको टिकट काट्ने काम गरिरहेको र इजाजत लिएका एजेन्सीप्रति मार परेको हुँदा मन्त्रालायले यस कदम चालेको सूचनामा उल्लेख छ ।

यसका साथै मन्त्रालयले इजाजत पत्र नवीकरण नभएकाहरुलाइ समेत समयमा नविकरण गर्न निर्देशन दिएको छ ।