इलामको कारागारमा एकै पटक एक सय ५७ कैदी बिरामी

असोज ६,काठमाडौं—इलाम कारागारका १ सय ५७ कैदीबन्दी एकैपटक बिरामी भएका छन् । संक्रमण एक अर्कामा सर्दै जाँदा प्रायः सबै कैदीलाई सङ्क्रमण देखा परेको हो ।

कैदीलाई टाउको दुख्ने, छाती दुख्ने, वान्ता हुने ज्वरो आउने लक्षण देखा परेको कारागार प्रमुख प्रदीप श्रेष्ठले बताए । एकैपटक ठूलो सङ्ख्यामा कैदी बिरामी परेपछि उपचारमा समेत धौधौ परेको उनले बताए । श्रेष्ठले धेरै कैदीबन्दी बिरामी परेपछि इलाम अस्पतालबाट चिकित्सकको टोली लगेर कारागारमा नै उनीहरुको उपचार गरिएको जानकारी दिए ।

कारागार साँघुरो भएकाले पनि कैदीलाई सहज उपचार गर्न सकिएको छैन । कारागारको क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले पनि उपचार सेवामा कठिनाइ भएकाले रोग सर्दै गएको बताइएको छ । शनिबार ७८ जना बिरामी थिए भने आइतबार बढेर एक सय ५७ जना भएको छ । कारागारमा हाल २ सय ६० कैदी रहेका छन् ।

१०० पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा २ सय ३७ पुरुष, २१ महिला र दुई नाबालक छन् । कारागारमा ११ जना कर्मचारीको दरबन्दी छ । कार्यालयमा चार जना कार्यालय सहयोगी रहे पनि कार्यालय सहयोगीनै अपुग हुने गरेको श्रेष्ठले बताए ।