काँग्रेसमाथि आक्रमण गर्नेलाई कारबाही गर्न सरकार गम्भीर छः गृहमन्त्री

भदौं २८,काठमाडौं— गृहमन्त्री रामबहादुर थापाले जागरण अभियानअन्तर्गत सीतापुर बाँकेमा काँग्रेसमाथि आक्रमण गर्नेे घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् ।

सिंहदरबारमा आज बिहान नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले हुन नहुने घटना भएको बताए । साथै घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर रहेको जानकारी दिए ।

नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा भएको घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने गृहमन्त्री थापाकोे भनाई छ । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने बताए ।

काङ्ग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ । उक्त घटनामा परी काङ्ग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।