नाजेझ्दा कपको फाइनल खेल आज हुँदै,कसले जित्ला उपाधि ?

भदौ २६,काठमाडौं—किर्गीस्तानमा जारी नादेझ्दा कपको फाइनल खेल आज हुँदैछ । नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेबाट सुरु हुने उक्त उपाधि भिडन्तमा नेपाल र उज्वेकिस्ताले खेल्नेछन् ।

यो खेल काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुनेछ । तुलनात्मक रूपमा नेपालभन्दा उज्वेकिस्तान बलियो टोली हो । फिफा वरीयतामा ऊ नेपालभन्दा धेरै अगाडि छ । फिफा र्या्ङ्किङमा उज्वेकिस्तान ४४औं स्थानमा छ भने नेपाल १०१ औं स्थानमा छ ।

यस्तै यस प्रतियोगिताकै क्रममा नेपालले उज्वेकिस्तानसँग हार पनि ब्यहोरिसकेको छ । नेपालले समूह चरणको खेलमा उज्वेकिस्तानसँग २–० गोलको हार ब्यहोरेको थियो । तर, आजको खेलमा नेपाल उज्वेकिस्तानसँग त्यही हारको बदला लिँदै उपाधि पनि आफ्नो बनाउने दाउमा छ ।

पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपमा आयोजक किर्गिस्तान, नेपालसहित चार देश सहभागी छन् । नेपालले मंसिरमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारीका रूपमा यस प्रतियतोगितालाई लिएको छ ।

नेपाली टोलीमा गोलकिपरमा अन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर र उषा नाथ रहेकी छन् भो डिफेन्डरमा हिराकुमारी भुजेल, गीता राना, मनमाया लिम्बू, निशा ठोकर, पुनम जर्घा मगर, बिमला बिक, पूजा राना मगर, रोजिना श्रेष्ठ, घीमकुमारी गुरुङ, अमृता जैसी र कविता धिमाल रहेकी छन् ।

यस्तै मिडफिल्डरमा अन्जलीकुमारी योन्जन, रेनुका नगरकोटे, अनिता बस्नेत, इन्दिरा राई, बिमला चौधरी, दीपा राई, सपना लामा, शर्मिला थापा, सविता राना मगर, प्रिती राई रहँदा फरवार्डमा साबित्रा भण्डारी, अनिता केसी, रेखा केसी, रेखा पौडेल, निरु थापा, करिष्मा खत्री र रश्मीकुमारी घिसिङ रहेकी छन् ।