विदेशी विद्यार्थीलाई सहज हुँदै बेलायत

भदौ२६,काठमाडौं—बेलायतले प्रवासी नीतिमा परिवर्तन गर्ने भएको छ । जसको प्रत्यक्ष फाइदा विदेशी विद्यार्थीहरुले पाउने छन् । बेलायतमा अन्यदेशबाट आएर अध्ययन गर्ने छात्रछात्रालाई पढाई पुरा गरेको दुई वर्ष्भित्र त्यही बसेर रोजगारी खोज्न सक्ने नयाँ प्रस्तावको घोषणा गरेको हो ।

बेलायतको गृहमन्त्रालयले घोषणा गरेको यो प्रस्ताव आगामी वर्षबाट लागु हुने छ । २०१२ मा तत्कालीन गृहमन्त्री टेरेजा मेले लागु गरेको नीति परिवर्तन गर्दै नयाँ नीति लागु गर्ने प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । पुरानो नीति अनुसार विदेशी विद्यार्थीले पढाई पुरा गरेको ४ महिनामा बेलायत छोड्नु पर्ने नियम छ ।

प्रधानमन्त्री जोनसनले नयाँ कानुनले विदेशी विद्यार्थीले पनि क्षमता अनुसारको काम खोज्ने मौका पाउने बताए । नयाँ कानुन सबै विदेशी विद्यार्थीहरुलाई लागु हुने छ । आगामी वर्ष स्नातक तथा सो भन्दामाथि शिक्षा लिन बेलायत पुग्ने सबैले नयाँ कानुन अनुसार काम खोज्न पाउने छन् ।

टेरेजा मेले प्रवासीहरुको संख्या लाखमा घटाउने भन्दै प्रवासी नियमलाई कडा बनाएकी थिइन् । तर योग्य विद्यार्थीहरुले बेलायतमा नै बसेर काम गर्ने अवसर पाउनु पर्ने भन्दै प्रधानमन्त्री जोनसनले बेलायतमै बस्ने र काम गर्ने वातावरण बनाउने वाचा समेत गरेका छन् ।