५ दिनपछि खुल्यो बेनी जोमसोम सडक

 

भदौं २६, काठमाडौं —  पहिरोले बिगत ५ दिनदेखि अवरुद्ध रहेको बेनी(जोमसोम सडक आज बिहानबाट सुचारु आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ र मुस्ताङको थासाङ गाउँपालिका–४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक डोजर परिचालन र नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर पहाड फुटाएर मर्मत गरिएको हो ।

पहिरोले करीब १३ मिटर सडकको बेस (जगरआधार) भत्काएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने ७६ किलोमिटर दूरीको यो सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।

बाटो सुचारु भएसँगै स्थानीयवासी, मुस्ताङ भ्रमण गर्ने पर्यटक र मुक्तिनाथ तीर्थयात्राका लागि जाने आउने तीर्थयात्रीलाई गन्तव्यतर्फ जान सहज भएको छ। मुस्ताङमा उत्पादित स्याउ बजारमा पुग्न थालेको छ।