डेंगुको महामारी — प्रदेश ३ मा ४ हजार बिरामी

भदौं २६, काठमाडौं — डेंगुको महामारी यतिबेला देशब्यापी रुपमा फैलिरहेको छ । संक्रमण पछि सरकारी तयारी उच्च भएपनि रोग लाग्न नदिने उपायहरुका भने सरकारको चासो पुगेको छैन । प्रदेश ३ का १३ वटै जिल्लामा डेंगुका बिरामी फेला परेका छन् ।

प्रदेश–३ मा हालसम्म ३ हजार ७ सय ६६ जनामा डेंगु देखापरेको छ । १३ जिल्लामध्ये सबभन्दा बढी चितवनमा १ हजार ४६० बिरामी फेला परेका छन् । मकवानपुरमा ७ सय २८ जना र काठमाडौंमा एक हजार ३ सय ४५ जनामा डेंगु देखा परेको छ ।

बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले डेंगु नियन्त्रणका लागि प्रदेशका १ सय १९ वटै स्थानीय तहमा अभियान चलाइएको बताएका छन् ।

‘सबै जागौं, सबै लागौं–वरिपरि जमेको पानी हटाई डेंगु भगाऔं’ विषयक पत्रकार सम्मेलनमा उहाँले अभियानमा सबै क्षेत्र एकैपटक जुट्न आग्रह समेत गरेका छन् ।