फुटबल खेल्दा खेल्दै ‘हर्टअट्याक’ भएपछि विश्वकप विजेता काफुका छोराको निधन

भदौं १९ —ब्राजिलका लिजेन्ड खेलाडी काफुका छोरा डेनिलो फेलिसियानो डी मोरेसको हृदयघातका कारण निधन भएको छ । ३० वर्षीय डी मोरेसको फुटबल खेल्दा खेल्दै हृदयघात भएका कारण निधन भएको अन्तर्रा्ष्ट्रिय मिडियाले जनाएका छन् ।

ब्राजिलका मिडियाहरूका अनुसार काफुका जेठा छोरा डेनिलो बुधबार आफ्नै घर छेउमा साथीहरूसँग फुटबल खेल्ने क्रममा हृदयघात भइ लडेका थिए । ब्राजिलको साओ पाउलोमा रहेको खेल मैदानमा लडेका उनलाई सोही शहरको अल्बर्ट आइन्स्टाइन हस्पिटल लगिएको थियो । सोही अस्पतालमा उनको निधन भएको हो ।

मोरेसको यो निधनको खबर काफुका पूर्वसहकर्मी तथा साथी पाउलो सर्जियोले स्पष्ट पारेका छन् । मोरेस विश्वकप विजेता काफुका तीन सन्तानमध्ये जेठा छोरा हुन् ।

एजेन्सी