डडेल्धुरामा स्क्रब टाइफसको संक्रमण फैलिदैं —१० दिनमा २७ बिरामी

भ्दौं १७,काठमाडौं — डडेल्धुरामा स्क्रब टाइफस रोगको संक्रमण फैलिन थालेको छ । डडेल्धुरा अस्पतालले १० दिनमा १ सय २० जनालाई चेकजाँच गर्दा २७ जनामा स्क्रब टाइफस रोगको संक्रमण देखापरेको डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख इश्वरीप्रसाद भुषालले बताएका छन् ।

उनले भने, ‘भाद्र ५ गतेबाट १५ गतेसम्म १ सय २८ जना ज्वरो भनेर आएकालाई चेकजाँच गर्दा १० दिनमै २७ जना भेटिए। अन्य जिल्लामा डेंगुको संक्रमण बढदै छ, यता स्क्रब टाइफस फैलियो।’

डडेल्धुरा अस्पतालमा बझाङ, बैतडी, डोटी, दार्चुलाका बिरामी आउने गरेका छन्। २७ जनामा डडेल्धुराका मात्र बिरामी नभई अन्य जिल्लाको पनि रहेको प्रयोगशाला प्रमुख भुषालले बताए।

पछिल्लो समय प्राणघातकका रुपमा फैलिएको स्क्रब टाइफस माइटबाट मानिसमा सर्ने गरेको छ। स्क्रब टाइफस रोग लागेमा ज्वरो आउने, मांसपेसी, दुख्ने अत्यधिक टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुराका डा उत्तम भट्टले बताए।

व्यक्तिगत स्वास्थ्यमा ध्यान नदिँदा यो रोगको संक्रमण बढ्ने भएकाले पूरै शरीर ढाक्नेगरी लुगा लगाउने, खुला ठाउँमा शौच नगर्ने र स्क्रब टाइफसका उल्लेखित लक्षणहरुमध्ये कुनै पनि देखापरेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई डाक्टरसँग परामर्श लिनुपर्ने भट्टले बताएका छन् । साभार स्वास्थ्य खवरपत्रिका