हरितालिका तीज विशेष फोटो फिचर

भदौ १६, काठमाडौं – नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका तीज । देशभरी खुशी उमंग र हर्ष उल्लासका साथ नाचगान र रमाईलो गरी मनाईदै छ ।

विभिन्न धार्मिक तिर्थस्थलहरु तथा मन्दिरहरुमा विशेष पुजा आजाका लागि भीड र घुईचो लागेको छ । पुजा आजा सकेर चोक गल्ली खुला स्थानहरुमा चेलीवेटीहरु भेला भई तीज विशेष सभा समारोहको आयोजना गरिएका छन् ।

कतै गायक गायिकाहरुको वोलावट गरी विशेष तिज गीत कार्यक्रमको आयोजना गरिएको छ भने कतै स्वतस्फूर्त चेलीवेटीहरु जमघट भई ठुला ठुला स्पिकरमा तिजका गीत घन्काएर कम्मर मकाई मकाई अनि ढल्कि ढल्कि नाचिरहेका छन् ।

तीजको अघिल्लो दिन आमावुवा दाजुभाईसंग दिदी वहिनी सबै जना भेटिएर, मिठा मिठा दर खाएर दुख पिडा मनको वह एक आपसमा पोख्दै माईतीको आँगन उज्यालो पारेका हुन्छन् ।

मध्य रातसम्म नाचगान गर्दै दर खाँदै रमाईलो गरेर रात विताउने मात्र हैन, अर्काे दिन अर्थात आजको हरितालिका तीजका दिन विहान नुवाई धुवाई गरी मठ मन्दिरहरुमा पुजाआजा गर्ने गर्छन् ।

विवाहित महिलाले पतिदेवको लम्बायु दिर्घायु र स्वास्थ्यको कामना गर्दै व्रत वस्ने गर्छन् । अविवाहित महिलाहरु पनि कुशल, असल र राम्रो चरित्रवान श्रीमान पाउने मनोकाँक्षा सहित व्रत वस्ने गर्दछन् ।

आज हरितालिका तीज विशेषका दिन हिन्दु धर्मको आस्थाको धरोधर चारधाम मध्य एक पशुपतिनाथमा विहानैदेखी दर्शनार्थीहरुको ठुलो घुईचो लागेको छ । पशुपतिका चारवटै मुख्य ढोकाहरु खुला गरिएका छन् ।

ठाउँ ठाउँ खानेपानीको व्यवस्था गरिएको छ । हुल दंगा हुन नहोस भनेर नेपाल प्रहरी ससस्त्र र नेपाल स्काउट लगाए विद्यार्थीहरु स्वयंसेबकहरु खटाई मन्दिर परिसरको व्यवस्थापन राम्रो गरिएको छ ।

विशेष गरी चर्काे घामपनि नभनीकन पंत्तिवद्ध भई हातमा फूल प्रसाद धुप ध्वजा नैवेद्य लिएर नारीहरु पशुपतिनाथको दर्शन गर्न लाईनमा उभिएका देखिएका छन् । वृद्ध नारीहरुलाई लाईन नबसीकन मन्दिरभित्र प्रवेश गर्ने र दर्शन गर्ने व्यवस्थाको चाँजो पाँजो पनि मिलाईएको छ ।

त्यसपछि कोही दर्शन सकाएर पशुपति मन्दिर परिसरका विभिन्न चोक चोकमा जमघट भई तीजका गीत बजाएर नाचगान गरी रमाईरहेका देखिन्छन् । यसरी आज दिनभरी र भोली ऋषि पन्चमीसम्म नारीहरु व्रत वस्ने हरु व्रत वस्ने र नबस्नेहरु पनि रमाईलो गरी तिजलाई विदाई गर्ने गरिन्छ ।