आज हरितालिका तिज मनाइदैं

भदौ १६, काठमाडौं — महिलाहरुको महान चाड हरितालिका तिज आज मनाइदै छ । आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । आइतबार राति मीठा एवं आडिला परिकार दरका रुपमा खाएका व्रतको पूर्व तयारी गरेका व्रतालु आज विहानै पूजाआजाका लागि शिव मन्दिरमा पुगेका हुन् ।

महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । आज पशुपतिनाथ मन्दिरमा पुगेका भक्तजनका लागि आज चारवटा मार्गको व्यवस्था गरिएको छ । दर्शनार्थीले छिटो मन्दिरमा दर्शन गर्न सकुन् भनेर बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन् ।