पुरूषभन्दा महिलाको मस्तिष्क तीब्र चल्नुको कारण यस्तो रहेछ

भदौं १४,काठमाडौं —विभिन्न अनुसन्धानहरुका अनुसार महिलाको मस्तिष्क पुरुषहरुको तुलनामा एकदम तीब्र गतिमा चल्ने गर्छ । महिलाहरुको उमेर भएको पुरुषको मस्तिष्कको तुलना गर्ने हो भने महिलाको मस्तिष्क उमेर पुरुषको भन्दा तीन वर्ष कम हुने पाइएको छ ।

‘प्रोसेडिङस अफ नेसनल एकेडमी अफ साइन्सेज’ मा उल्लेख गरिएअनुसार महिलाको मस्तिष्क पुरुषको तुलनामा लामो समयसम्म तीब्र गतिले चल्ने गर्दछ । वैज्ञानिकहरुले गरेको अध्ययनमा २० देखि ८४ वर्षका १ सय २१ महिला र ८४ पुरुषहरुलाई सहभागी गराइएको थियो । उनीहरुमा गरिएको अध्ययनअन्तर्गत सबैको मस्तिष्कमा ग्लुकोज र अक्सिजनको प्रवाह नाप्नका लागि ‘पीईटी स्क्यान’ गरिएको थियो ।

मस्तिष्कमा हुने मेटाबोलिज्मसम्बन्धी क्रियाकालापले महिला र पुरुषको उमेर बढ्दा मस्तिष्कको अन्तर बुझ्न सघाउने भएकाले उनीहरुको मस्तिष्कको ‘पीईटी स्क्यान’ गरिएको हो । मानिसको मस्तिष्क अक्सिजन र ग्लुकोजले चल्ने भएकाले मस्तिष्कले ग्लुकोजको उपयोग कसरी गर्छ भन्ने कुरा मानिसको उमेर बढेसँगै परिवर्तन हुँदै जाने गर्छ । उक्त अध्ययनमा संलग्नहरू भएका मानिसहरुको उमेर र मस्तिष्कको क्रियाकालापबीच सम्बन्ध पत्ता लगाउनका लागि मेसिनमा पुरुषको उमेर र मस्तिष्क क्रिया र महिलाको उमेर नहाली मस्तिष्कको मेटाबोलिज्मको तथ्यांकलाई मात्र हालेर मेसिनले महिलाको मस्तिष्कको उमेरको गणना गरिएको थियो ।

उक्त अनुसन्धानबाट पुरुषको मस्तिष्कको आयु वास्तविक उमेरको तुलनामा २.४ वर्ष बढी भएको र महिलाको वास्तविक उमेरभन्दा उनीहरूको मस्तिष्कको आयु ३.८ वर्ष कम भएको देखियो । यससंगै विभिन्न अध्ययनले औसतमा शारीरिक बल, तर्क र परीक्षण जस्ता कुरामा पुरुष अगाडि हुने भए पनि सीप, सिर्जना, मान्छे छिटै चिन्ने, नयाँ ठाउँमा छिटै घुलमेल हुन सक्ने कुरामा महिला अगाडि हुने कुरा पत्ता लागिएको थियो ।

महिलाको तुलनामा पुरुषको मस्तिष्कले धेरै प्रकारको काम एकै चोटी गर्ने क्षमता राख्दैन । महिलाहरुले बीस वर्ष पहिले आफूले लगाएको लुगालाई समेत सम्झेका हुन्छन् भने लुगा नहेरिकन पुरुषलाई हिजो लगाएका लुगाहरु समेत याद रहँदैन । बच्चा रोइरहे, कुकुर भुकिरहे वा विभिन्न आवाजहरु आइरहे पनि पुरुष सुत्न सक्छन भने महिलाहरु त्यस्तो आवाज आएको ठाउँमा सुत्न सक्दैनन् ।

एजेन्सीहरुको सहयोगमा