प्रचण्डको अध्यक्षतामा आज पहिलोपटक नेकपा सचिवालय बैठक बस्दै

भदौं ९,काठमाडौं — पार्टी एकताको १५ महिनापछि पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा आज (सोमबार) बस्ने भएको छ ।

यस अघिका बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका थिए । उनी उपचारका लागि सिंगापुरमा रहेकाले पहिलोपटक एक अध्यक्षको अनुपस्थितिमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले दाहाललाई उपचारका लागि सिंगापुर जानुअघि पार्टीको बैठक, निर्णय लगायतका काम सहमतिमा गर्न जिम्मेवारी दिएका थिए । सोही अनुसार अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गर्दै सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागेको कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा छलफल गरिने एजेन्डा राखिएका छन् ।