‘मेस्सीको दुईवटै खुट्टा भाँचिदिन्छु’ भन्ने खेलाडी नै बार्सिलोना आएपछि….

भदौं ७,एजेन्सी  —   स्पेनिस क्लब रियल बेटिसका पूर्व्डिफेन्डर जुनियर फिर्पो यसै सिजन ला लिगा प्रतिद्वन्द्वी क्लब बार्सिलोना आए । २३ वर्षीय फिर्पो बार्सिलोना आए यता आफ्नो पुरानो ट्वीटका कारण पश्चाताप महसूस गरिरहेका छन् ।

सन् २०१२ मा फिर्पोले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई गाली गर्दैै ट्वीट गरेका थिए । उनी १५ वर्षको हुँदा मेस्सीका बारेमा एक कडा ट्वीट गरेका थिए, जसमा उनले मेस्सीको दुईवटै खुट्टा भाँचिदिन्छु भन्दै लेखेका थिए । उनले त्यतिबेला लेखेका थिए, ‘म एक किकमा मेस्सीको दुवै खुट्टा भाँचिदिन्छु ।’

स्पेनिस फुटबलर फिर्पोले त्यतिमात्र नभएर मेस्सीविरुद्ध तथानाम गाली गरेका थिए । मेस्सीविरुद्ध अश्लील शब्द प्रयोग गर्दै फिर्पोले ट्वीट गरेका थिए । उनी बार्सिलोना आएपछि सोही ट्वीट मिडियाले फेरि खोतालिदिएका छन् । स्पोर्ट्स नामक मिडियाले यस विषयमा उनलाई सोधेको पनि थियो ।

जसको उत्तरमा फिर्पोले सामान्य उत्तर दिएका छन् । उनले भनेका छन्, ‘मलाई थाहा थियो कि तपाईंले यो पुरानो ट्वीटका बारेमा सोध्नु हुन्छ । हो, मैले बनाएको थिएँ र यो बितेको समय थियो । यसले केही ठूलो क्षति गर्छ जस्तो मलाई लाग्दैन । मेरो विचारमा यसबारे मेस्सीले थाहा पाएनन् होला । थाहा पाए पनि यसलाई मेस्सीले सामान्य लिएका छन् होला । तर, म त्यतिबेला सानै थिएँ, मलाई के गर्न हुन्छ के हुँदैन भन्ने थाहा थिएन ।’

उनले मेस्सीसँग नियमित भेट हुने पनि बताए । उनले भने, ‘मैले उनलाई प्रत्येक दिन चेन्जिङ रुममा देखिरहेको हुन्छु । यसमा कुनै समस्या छैन । मैले उनीसँग माफी माग्नु छ । जब कोही १५ वर्षको हुन्छ त्यसलाई कसरी थाहा हुन्छ कि यसले भविष्यमा ठूलो प्रलय ल्याउला भन्ने ?’

फिर्पो ला लिगाको पहिलो खेलमा बेन्चमै बसेका थिए । एथ्लेटिको बिल्बाओसँगको खेलमा बेन्चमा सीमित हुनुपरे पनि अर्को खेलबाट डेब्यू गर्ने आशमा छन्, फिर्पोे । बार्सिलोनाले आइतबार फिर्पोको पूर्वक्लब रियल बेटिससँग खेल्दैछ । आइतबार राति हुने यस खेलबाट नयाँ सिजनको ला लिगामा डेब्यू गर्न पाउने अपेच्छामा छन्् उनी ।

अघिल्लो सिजन बेटिसबाट २४ खेल खेलेका उनले ३ गोल गरेका छन् । यस खेलमा मेस्सीले पनि खेल्ने सम्भावना धेरै छ । अभ्यासको क्रममा घाइते भएका उनी यसै खेलबाट नयाँ सिजनको ला लिगाको खेल खेल्दैछन् ।