पलसँगको सम्बन्धका बारे खुलिन् आँचल

भदौं ७,काठमाडौं —  पल शाहलाई धोका दिएको भन्दै अभिनेत्री आँचल शर्माका फ्यानले गुनासो गर्न थालेका छन् । कतिले त उनलाई ‘धोकेबाज’ भन्दै गाली गरिरहेका छन । त्यसो त पल र आँचलको नाम जोडिएको लामो समय भइसक्यो । यी दुईले थुप्रै म्युजिक भिडियोमा एकसाथ काम गरे ।

आँचल भन्छिन्, ‘मेरो पल जीसँग प्रेम नै थिएन, कतिपय दर्शकलाई त्यस्तो लागेको रहेछ ।आँचलले सुनाइन्  ‘पल जी र म प्रेममा थियौँ भनेर हामी दुवैले कहिल्यै स्वीकारेनौँ, न त हामी प्रेममा नै थियौँ, तर दर्शकलाई के लाग्यो भने हामी साँच्चिकै प्रेममा थियौँ,  पल जीसँगको सम्बन्ध अहिले पनि उत्तिकै राम्रो छ, हामीले कस्तो राम्रो अभिनय गरेका रहेछौँ त, दर्शकले स्क्रिनमा देख्नुभएको मायालाई वास्तविक जीवनमा पनि जोडेर हेरिदिनुभयो ।’

पल फिल्म क्षेत्रको पहिलो साथी र गार्जेन भएको बताउछिन् । आँचलले पलसगँ कहिल्यै पनि प्रेममा नरहेको दाबी गर्छिन् ।

आँचल अगाडी थपछिन् ‘उहाँ मेरो अभिभावकजस्तै हो, उहाँको पारिवारिक भेटघाटमा पनि म पुगेकी हुन्छु, उहाँ पनि मेरो घरमा आउनुहुन्छ, हामीबीच त्यति नजिकको सम्बन्ध छ, तर, हामी यति नजिक छौँ भन्नेको अर्थ प्रेममा छौँ भन्ने होइन, उहाँसँग म सधै सम्मानका साथ नजिक हुन्छु ।’

आँचलले पललाई आफ्नो परिवारले पनि विश्वासका साथ हेरेको बताइन् । साथीका रुपमा पल एकदमै बुझ्ने भए पनि भविष्यमा बिहे गर्ने गरी आफू नजिक नभएको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘सबैसँग प्रेम हुन्छ भन्ने छैन नि ।’

प्रेमका बारेमा खासै खुलेर नबोल्ने र पलसँगको सम्बन्धका बारेमा त झन् सधै साथी भन्ने आँचलले अहिले भने आफ्नो सम्बन्धका बारेमा खुलेर बोल्न थालेकी छिन् ।

तर, उनी उदिप श्रेष्ठसँगको सम्बन्धलाई प्रेमभन्दा पनि ‘साथीभन्दा माथि’ को सम्बन्धका रुपमा चिनाउन चाहन्छिन् । उदिप श्रेष्ठ पेशाले डाक्टर हुन् ।उनका अनुसार उदिप र आँचलको भेट सन् २०१६ बाटै सामाजिक सञ्जालमार्फत भएको थियो ।

‘उदिप जीलाई मैले चिनेको ३ वर्ष भयो, फेसबूकमा एकजना दाइको साथी भएका कारण हाम्रो चिनजान भएको थियो,’ आँचलले भन्छिन् ‘हामी बढी नजिक भएको चाहिँ एक वर्ष मात्र भयो ।’

आँचल उदिपसँगको सम्बन्धलाई लिएर परिवार पनि सकारात्मक रहेको बताउँछिन् । आफूलाई परिवारले सधै सहयोग गरेको र उदिपसँगको विषयमा पनि परिवार सधै सकारात्मक रहेको उनी बताउँछिन् ।

उदिपलाई आफूले नजिकबाट चिनेको र उनले पनि आफूलाई खुबै ख्याल गर्ने गरेको आँचल बताउँछिन् ।