अख्तियारको नाममा सुसाइड नोट लेखेर पूर्वसरकारी कर्मचारीद्धारा आत्महत्या

साउन २७, काठमाडौं–  उदयपुर घर भएका एक पूर्वसरकारी कर्मचारीले ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । उनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको घटनामा दोषी देखिएका मालपोत कार्यालय, कलंकीका पूर्वनायब सुब्बा हरिप्रसाद आचार्य हुन् ।

उदरपुर, त्रियुगा नगरपालिका वडा नं १० का आचार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले उनीसहित ७ जनाविरुद्ध ३ जेठमा भ्रष्टाचार मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ता भएपछि आचार्यले स्वेच्छिक अवकाश लिए थिए ।

आइतबार त्रियुगा नगरपाकिलाकै वडा नं ९, रातामाटेस्थित शिखरकट्टेको जंगलमा उनी झुण्डिएको अवस्थामा फेला परेका थिए । ५५ वर्षीय आचार्य शनिबारै घर छोडेर सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार आचार्य सखुवाको रुखमा प्लास्टिकको डोरीले उनी झुण्डिएका थिए ।

उनले आत्महत्या गर्नुअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा २ पाना सुसाइड नोट लेखेको प्रहरीले फेला पारेको छ ।

उनले छोडेको सुसाइड नोटमा अख्तियार प्रमुखलाई २०० वर्ष बाँच्नू भनेर लेखेका छन् । सो नोटमा आफूले भ्रष्टाचार नगरेको समेत उनले लेखेका छन् ।

सुसाइड नोटमा लेखिएको छ, ‘सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन् । तर मलाई भ्रष्टचारी भनाउन खोजियो । अख्तियार प्रमुख नवीनकुमार घिमिरेज्यू, २ सय वर्ष बाँच्नुस् शुभकामना !’ उनले आफूजस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा चलाइएको भन्दै असन्तोष व्यक्त गरेका छन् । उनले श्रीमती छोराछोरीलाई मिलेर बस्न र भाई रमेशलाई सहयोग गर्न समेत उक्त नोटमा खुलाएका छन् ।

उनले थप लेखेका छन् ‘कान्छो छोराको ब्याचलर सकुँला भनेको थिएँ सकिनँ, पापी भएँ‘ । बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ । वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा, साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू ।’

आचार्य शनिबार बेलुका करिब ६ बजेतिर सुसाइड नोट लेखी घरबाट बाहिरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनीविरुद्ध कलंकी मालपोतमा कार्यरत रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी २ करोड २१ लाख बराबरको भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले मुद्दा चलाएको थियो ।