साउन २३, काठमाडौं– नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ भने दुई बालबालिकाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पाल्हिनन्दन गाउँपालिका–५ बस्ने सुधा विश्वकर्मा साढे २ वर्षीय छोरा अभिनाथ विश्वकर्मा र डेढ महिनाकी छोरी निकिता विश्वकर्मा सहित नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा दुई सन्तानको मृत्यु भएको छ ।
आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी नदीमा हामफालेकी थिइन् । आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयले उद्धार गरेका छन् । आमा सुधा विश्वकर्मा प्रहरी नियन्त्रणमा रहेका प्रहरीले बताएको छ ।
उनका पति प्रहरी युक्ती तालिम महाविद्यालय जर्गाहा नवलपरासीमा कार्यरत रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।