फिल्म निर्देशनबाट पछि हट्दै अभिनयतर्फ व्यस्त हुन थाले निश्चल

साउन २२,काठमाडौं – निश्चल बस्नेतले नेपाली फिल्म क्षेत्रलाई ‘लुट’ फिल्मबाट अर्कै बाटोमा मोड्न सफल भएका निर्देशकको रुपमा चिनिने नाम हो । एक समय उनलाई नेपाली फिल्म क्षेत्र हाँक्ने ड्राइभर समेत भन्ने गरिन्थ्यो । तीन वर्ष यता निश्चलले कुनै पनि फिल्मको निर्देशन गरेका छैनन् । तर, अहिले त्यो साहसी ड्राइभर फिल्म निर्देशनबाट टाढा रहेर अभिनयतर्फ व्यस्त हुन थालेका छन् ।

उनले विगत तीन वर्ष अगाडि लुटुको सिक्वल ‘लुट २’ निर्देशन गरेका थिए । उक्त फिल्मले राम्रै व्यापार गर्न सकेपनि फिल्मले राम्रो प्रतिक्रिया भने पाउन सकेन । फिल्मको कथावाचनमा चुकेको उनलाई आरोप लाग्यो ।

हालै उनले हेमराज विसीद्धारा निर्देशित फिल्म ‘घामड शेरे’मा उनले स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् । फिल्ममा अभिनयसँगै उनले म्यूजिक भिडियो पनि बाक्लै गरिरहेका छन् । केही फिल्मका गीतहरुमा उनले आफ्नो स्वर समेत दिइसकेका छन् । अब उनि चाँडै ‘दुई रुपैयाँ’ टिमको नयाँ फिल्म ‘डामाडोल’मा पनि देखिने भएका छन् ।

उनले आफ्नै निर्माणमा ‘दिमाग खराब’ नाम गरेको फिल्मलाई यसै वर्ष देखि छायांकनमा ल्याउने तयारीका साथ निर्देशन गर्ने खवर सार्वजनिक भएको थियो । तर, उनले फेरि फिल्म निर्देशनबाट हात झिकेका छन् ।

निश्चलले आफ्नो ब्यानरमा दर्ता गराएको फिल्म ‘दिमाग खराब’लाई निर्देशन गर्ने जिम्मा फिल्म ‘झ्यानाकुटी’ का निर्देशक सिमोस सुनवारलाई सुम्पिएका छन् । सिमोस अहिले फिल्मको स्क्रिप्टमा काम गरिरहेका छन् । निर्देशन नगरे पनि फिल्ममा निश्चलको अभिनय रहन सक्ने भएको छ । निश्चलका साथै अभिनेत्री स्वस्तिमा खड्काको पनि अभिनय रहने सम्भावना देखिन्छ ।