ऋतिक र दीपिकालाई एकसाथ ‘रामायण’ मा देखिने

साउन , काठमाडौं – चर्चित धार्मिक कथा ‘रामायण’ ठूलो बजेटमा निर्माण हुने भएको छ । फिल्म ‘रामायण’ मा बलिउड सुपरस्टार ऋतिक रोशन रामको भूमिका देखिने छन् । यो फिल्मका लागि सीताको भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई अफर गरिएको छ । तर, उनले निर्माण टिमलाई फिल्म गर्ने वा नगर्ने भन्ने अहिलेसम्म जानकारी दिएकी छैनन् ।

थ्रीडीमा निर्माण हुन लागिएको फिल्म ‘रामायण’ मा ऋतिक केही दिनअघि मात्र फाइनल भएका छन् । निर्माण टिम पनि दीपिकाले फिल्ममा काम गर्ने आशामा रहेका छन् ।
फिल्म ‘रामायण’ हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिनेछ । दीपिकाले पनि फिल्म गर्न राजी भएमा पहिलो पटक ऋतिक र दीपिकालाई स्क्रिनमा एकसाथ देखिने भएको छ ।

अल्लु अरविन्द, नमित मलहोत्रा र मधु मंतेनाको निर्माणमा तयार हुन लागेको यस फिल्मलाई नितेश तिवारी र रवी उदयावारले निर्देशन गर्ने भएका छन् । हिन्दीसँगै तमिल र तेलुगू भाषामा पनि रिलिज गरिने यस फिल्मलाई ५०० करोडको लगानीमा निर्माण गर्न लागिएको छ । दीपिकाले छिट्टै निर्णय दिएमा र कलाकारहरु सबै फाइनल भएमा यस वर्षको अन्त्यबाट फिल्मको छायांकन सुरु गरिने भएको छ ।