अमरनाथ यात्राः ‘आतङ्ककारी आक्रमण’को चेतावनी, हजारौँ तीर्थयात्री र पर्यटक कश्मीर छाड्दै

साउन १९  – स्थानीय भारतीय अधिकारीहरूले सुरक्षासम्बन्धी चेतावनी जारी गरेपछि हजारौँको संख्यामा हिन्दू तीर्थयात्री र पर्यटकले भारत(प्रशासित कश्मीर छाडिरहेका छन्।

भारतीय अधिकारीहरूले अमरनाथ यात्रामा जाने हिन्दू तीर्थालुमाथि ’आतङ्ककारी आक्रमणको खतरा’ रहेको चेतावनी दिएका थिए।

अधिकारीहरूले “पाकिस्तानद्वारा संरक्षित आतङ्कवादीहरू’ले वर्षको एउटा समयमा मात्र जान पाइने प्रसिद्ध तीर्थस्थल अमरनाथतिर गइरहेका तीर्थयात्रीहरूलाई आक्रमण गर्ने योजना बनाएको दाबी गरेका छन्।

भारतले कश्मीरमा सक्रिय सशस्त्र विद्रोहीहरूलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप लगाउने गरेको छ। त्यसलाई पाकिस्तानले भने अस्वीकार गर्ने गर्छ।

अमरनाथमा हरेक वर्ष ४५ दिने तीर्थयात्रा हुन्छ। समाचारसंस्था एपीका अनुसार गत जुलाई १ तारिखबाट सुरु भएको उक्त तीर्थयात्राका क्रममा हालसम्म झन्डै तीन लाख जना अमरनाथ पुगिसकेका छन्।

अमरनाथ कश्मीरको उच्च हिमाली क्षेत्रमा रहेको एउटा गुफा हो।

कश्मीर सरकारले तीर्थयात्रीहरूलाई तत्काल उक्त क्षेत्र छाड्न सल्लाह दिएको छ। त्यसले गर्दा यातायात व्यवस्थापनमा कठीनाइ उत्पन्न भएको छ।

रोएटर्स समाचारसंस्थालाई स्थानीय अधिकारीहरूले बताएअनुसार झन्डै २० हजार भारतीय तीर्थयात्री र पर्यटकहरू एवम् दुई लाख मजदुरहरूले उक्त क्षेत्र छाड्न लागेका छन्।

“अमरनाथ यात्रीहरूको सुरक्षाका लागि उनीहरूलाई कश्मीर उपत्यकाको यात्रा तत्काल छोट्याउन सल्लाह दिइएको हो,“ कश्मीरका गृहसचिव शलीन काब्राले एउटा वक्तव्यमा भनेका छन्।

हिन्दू तीर्थयात्रीको सुरक्षाका लागि भारत सरकारले थप १० हजार सुरक्षाकर्मी परिचालन गरेको छ।

दुवै देशहरूले दाबी गर्दै आएको कश्मीरका सशस्त्र विद्रोहीहरूलाई पाकिस्तानले सहायता गरेको आरोप भारतले लामो सयमदेखि लगाउँदै आएको छ।

सशस्त्र विद्रोहीहरूले उक्त क्षेत्रमा हिन्दू तीर्थयात्रीलाई पहिले पनि निसाना बनाएका थिए। सन् २०१७ मा भएको आक्रमणमा सात जनाको मृत्यु भएको थियो।

शनिवार ब्रिटेन र जर्मनीले उनीहरूका नागरिकलाई कश्मीर भ्रणम नगर्न चेतावनी दिएका छन्।

भारत र पाकिस्तानले दाबी गर्ने गरेको कश्मीरका केही भूभागहरू मात्र उनीहरूको नियन्त्रणमा रहेको छ।

सन् १९४७ मा भारत र पाकिस्तान टुक्रिएपछि दुई देशबीच चार पटकसम्म युद्ध भइसकेको छ।

उनीहरू बीचको द्वन्द्वमा कश्मीरको विषय मुख्य हुने गरेको छ।

गत फेब्रुअरीमा पाकिस्तानमा आधार बनाएको भनिएको एउटा सशस्त्र समूहले गराएको आत्मघाती आक्रमणमा ४० जनाभन्दा बढी भारतीय सैन्य जवानहरू मारिएपछि दुई देशबीच पछिल्लो तनाव सुरु भएको हो।

उक्त घटनापश्चात् भारतले पाकिस्तानभित्र पसेर हवाई आक्रमण गरेको जनाएको थियो भने पाकिस्तानले एउटा भारतीय सैन्य विमान खसालेर त्यसका चालकलाई नियन्त्रणमा लिएको थियो।

बिबिसी