मोदीका कट्टर आलोचक पत्रकार रवीश कुमार म्यागासेसे पुरस्कारबाट सम्मानित

साउन १८ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक बरिष्ठ पत्रकार रवीश कुमार म्यागासेसे पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

एसियाको नोबेल पुरस्कारका रुपमा लिइने म्यागासेसे पुरस्कार सन् १९५७ मा स्थापना भएको हो । म्यागासेसे पुरस्कार फिलिपिन्सका पूर्व राष्ट्रपति रमन म्यागासेसेको सम्झनामा प्रदान गरिंदै आएको छ ।

रवीश कुमारको पत्रकारितालाई उच्चस्तरीय, सत्य प्रति निष्ठा, ईमानदार र निष्पक्ष भएकाले पुरस्कार प्रदान गर्ने निर्णय गरिएको म्यागासेसे फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले रवीश कुमार आवाज विहिनहरुको आजाव बनेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री मोदी र भारतीय जनता पार्टीको धार्मिक तथा दक्षिणपन्थ विचारका रवीश कुमार कट्टर आलोचक हुन् । उनी पत्रकारको काम प्रश्न गर्ने हो । यदि सत्ता र सरकारसँग प्रश्न गरिँदैन भने त्यहाँ पत्रकारिताको मृत्यु हुने बताउँछन् । उनले मूल धारका भारतीय टिभी र पत्रपत्रिका मोदीको भजन किर्तन गाउने गरेको भन्दै आलोचना गर्दै आएका छन् । उनी यस्ता मिडियालाई गादी मिडिया भनेर व्यंग्य गर्ने गर्दछन् ।

भारतका टिभी च्यानलमा हिन्दू मुस्लिमको अनावश्यक बहस गराएर समाजलाई विभाजित गरेको टिप्पणी गरेका छन् । उनले टिभीबाट गर्ने कतिपय विश्लेषण विवाद र चर्चाको घेरामा पर्ने गरेको छ । उनले टिभीमा हिन्दू मुस्लिम विवाद हेर्नु भन्दा टिभी नै नहेर्नु भनेका छन् । भारतीय टिभी च्यानलले धर्मका नाममा द्वन्द्वको विष रोपेको आरोप लगाउँछन् ।

उनले धर्मका नाममा समाजलाई कसरी विभाजित गरिँदैछ र मानिसमा भाजपा सरकारले कसरी डरको माहोल तयार गर्दछ भन्ने तर्क र विश्लेषण गर्ने गरेका छन् । उनले सार्वजनिक समारोहमा प्रवचन पनि दिने गरेका छन् ।

एनडिटिभीमा रवीश कुमारले संचालन गर्ने प्राइम टाइम र रोड सो निकै लोकप्रिय कार्यक्रम हुन् । उनले राज्य मूल समस्या र तल्लो तहका जनताका जनजीवनका विषयलाई समाचार र विश्लेषणको विषय बनाउने गरेका छन् ।

रवीश कमार मिडियाको पनि खुलेर आलोचना गर्दछन् । चल्तीका पत्रपत्रिकार र टिभीका एंकरको उनी खुलेर आलोचना गर्दछन् । पत्रकारिता कसरी बिकाउ बन्दै गएको छ र जनता एजेण्डा कसरी अझेलमा पारिन्छ भन्ने विषय उठान गर्ने गरेका छन् । उनलाई मोदी र भाजपा विरोधी पत्रकारको रुपमा चिन्ने गरिन्छ । उनका कार्यक्रममा भाजपाका कतिपय नेताले अघोषित बहिस्कार गरेका छन् ।

सन् २०१९ को म्यागासेसे पुरस्कार रवीश कुमारसहित म्यान्मारका को स्वे विन, थाईलैंडका अंगखाना नीलापाइजित, फिलीपीन्सका रेमुन्डो पुजांते र दक्षिण कोरियाका किम जोंग कीले पुरस्कार पाउने भएका हुन् ।

यसअघि गुणस्तरीय पत्रकारिताका पी साईनाथले पुरस्कार पाएका थिए । यसैगरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, अरुणा रा‘य र संजीव चतुर्वेदीसमेत कतिपय भारतीयले यो पुरस्कार पाइसकेका छन ।

एजेन्सी