यमनको सैनिक परेडमा अचानक शक्तिशाली विष्फोट, ३२ जना मारिए

साउन १६—  यमनको अन्तर्रा्ष्ट्रिय मान्यताप्राप्त सरकारको राजधानी आदेनमा आयोजित सैनिक परेडमा आक्रमण हुँदा कम्तीमा ३२ सैनिकको ज्यान गएको छ ।

आदेन शहरस्थित बुराइका जिल्लाको अल जला सैनिक ब्यारेकमा आयोजना गरिएको परेडमा अचानक विष्फोट भएको थियो । आक्रमणमा परी दर्जनौं सैनिक घाइते भएको यमनी अधिकारीले जनाएका छन् । मारिनेमा यमनी सेनाका वरिष्ठ सैनिक अधिकारीसमेत रहेको बताइएको छ ।

आक्रमणको जिम्मा यमनमा सक्रिय विद्रोही समूह हुथीले लिएको छ । राजधानी सानामा कब्जा जमाएको हुथी विद्रोहीनिकट अल मशिरा टेलिभिजनलका अनुसार मध्यम दुरीको ब्यालेष्टिक क्षेप्यास्त्र एवं चालकरहित ड्रोनबाट आक्रमण गरिएको हुथी विद्रोहीको दावी छ ।

उक्त सैनिक परेड यमनको ताइज र दालेआ शहरमा आक्रमणका लागि तयारी गर्न आयोजना गरिएको हुथी विद्रोहीको दावी छ ।

एजेन्सी ।