विकास वजेट वेलैमा खर्च नहुँदा डोल्पामा ३५ करोड फ्रिज

साउन १५, डोल्पा– सरकारी वजेट वेलैमा खर्च नहुँदा फ्रिज हुन गएको छ । सरकारले विकास गर्ने भन्दै छुट्याएको बजेट वेलैमा काम नगर्दा फ्रिज हुन पुगेको हो ।
भौगोलिक हिसावले सबैभन्दा ठुलो जिल्ला कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा यतिखेर वेला ३५ करोड २२ लाख ६१ हजार रुपैयाँ काम गर्न नसकेर फ्रिज भएको छ ।

संघीय र प्रदेश सरकारबाट विकासको लागि आर्थिक वर्ष ०७५÷०७६ का लागि चालु तर्फ ३७ करोड ७९ लाख ४६ हजार प्राप्त भएकोमा जम्मा ३० करोड ३ लाख ९५ हजार मात्र खर्च भयो । त्यसमध्ये ७ करोड ७५ लाख ५१ हजार फ्रिज भएको छ ।

त्यसैगरी पुजिँगततर्फ ५४ करोड १ लाख २० हजार मा ४३ करोड १ लाख १ हजार मात्र खर्च हुँदा ११ करोड १९ लाख रुपैयाँ फ्रिज हुन गयो । संघीय सरकारबाट चालु बजेटको २ अर्ब ५ करोड ६६ लाख ४४ हजारमा १ अर्ब ९१ करोड २९ लाख ५८ हजार खर्च भएको देखिएको छ । बाँकी १४ करोड ३६ लाख ८६ हजार रुपैया विनाकामले फ्रिज हुन गएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय डोल्पाका नवराज सुवेदीका अनुसार पुजिँगत तर्फ प्राप्त १३ करोड ६६ लाख ७ हजार बजेटमा ११ करोड ५५ लाख ५१ हजार खर्च हुँदा २ करोड १० लाख ५६ हजार रुपैयाँ फ्रिज भएको छ ।

डोल्पामा सबैभन्दा बढी जिल्ला वन डिभिजन कार्यालयमा संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त भएको रकम फ्रिज गएको छ। घरवास कार्यक्रम, पर्यटन पदमार्ग, हाइटेक वृक्षारोपण, तटबन्ध र सडकलगायतका शिर्षकमा प्राप्त भएको १२ करोड ७३ लाख रुपैयाँ समयमै काम नहुँदा फ्रिज भएको जिल्ला वन डिभिजन कार्यालय दुनैका नरबहादुर क्षेत्रीले बताए।

कतिपय कार्यक्रम शीर्षकको रकम ढिला गरी प्राप्त भएको कारण त कतिपय सम्झौता गरेर पनि समयमा काम नभएका कारण बजेट फ्रिज भएको हो।
आर्थिक वर्ष ०७५÷०७६ मा डोल्पामा मात्रै ८ वटा स्थानीय तह र प्रदेश मातहतका कार्यालयहरुबाट गरी ११ करोड १० लाख ५४ हजार रुपैयाँ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

८ वटा स्थानीय तहबाट १० करोड २२ लाख ९१ हजार ९१४ रुपैयाँ र प्रदेश मातहतका जिल्लास्थित कार्यालयहरुबाट ८७ लाख ६३ हजार ६३ रुपैयाँ मात्र राजश्व जम्मा भएको हो ।