ब्रजिलको जेलमा दुई समूहबीच झडप हुँदा ५६ को मृत्यु

साउन १४— ब्रजिलमा एउटा जेलभित्र प्रतिद्वन्द्वी समूहहरूबीच भएको हिंसामा कम्तीमा ५२ जना मारिएको अधिकारीहरूले जनाएका छन्।

पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अधिकारीहरूले पत्रकार सम्मेलनमा बताएअनुसार १६ जनाको घाँटी काटिएको थियो भने अन्यको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको हो।

बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ।
स्थानीय समयानुसार बिहान झन्डे सात बजे सुरु भएको हिंसा मध्याह्नतिर नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्।

जेलबाट लिइएको भनिएको ब्रजिलका सञ्चारमाध्यममा प्रसारित भिडिओ फुटेजमा कम्तीमा एउटा बन्दीगृहबाट धुवाँ निस्किरहेको देखिन्छ। अर्को भिडिओमा बन्दीहरू भवनको छतमा हिँडेको देखिन्छ।

प्रान्तीय सरकारले विज्ञप्ति जारी गर्दै कमान्डो क्लासिया ए (सीसीए) नामको गिरोहका सदस्यहरूले विरोधी समूह रेड कमान्डका सदस्यहरू राखिएको भवनमा आगो लगाएको जनाएको छ।

विज्ञप्तिका अनुसार त्यो स्तरको घटना हुने पूर्वचेतावनी वा सङ्केत थिएन। सोमवार हिंसा भड्किएको अल्टामिराको जेलको क्षमता दुई सय जना अटाउने भए पनि त्यहाँ झन्डै तीन सय कैदी छन्।

ब्रजिलको सञ्चारमाध्यमका अनुसार घटनामा संलग्न समूहका नाइकेलाई सङ्घीय कारागारमा सरुवा गर्न लागिएको छ। ब्रजिलका कारागारहरूमा हिंसा असामान्य होइन।

ब्रजिलका जेलमा सात लाख बन्दी छन्। विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्रजिल तेस्रो हो। त्यहाँ देशभरि रहेका जेलमा भिडभाडको समस्या छ।

प्रतिद्वन्द्वी समूहबीच बारम्बार झडप हुनेगर्छ। मे महिनामा एकै दिन चार फरक कारागारमा ४० जना मारिएका थिए। त्यो घटना १५ जना बन्दीको मृत्यु भएको भोलिपल्ट भएको थियो।

देशका दुई प्रमुख गिरोहबीच विभिन्न जेलहरूमा हिंसा हुँदा सन् २०१७ को ज्यानुअरी नवरी महिनामा मात्र १३० जनाभन्दा बढी मारिएका थिए। त्यसपछि लामो समयसम्म दङ्गा भएको थियो।

ब्रजिलका उग्रदक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारुले कारागारहरूलाई कडा नियन्त्रण ल्याइने प्रतिबद्धता जनाएका छन्। तर धेरैजस्तो जेलहरू प्रान्तको नियन्त्रणमा रहेकाले त्यो त्यति सजिलो छैन।

हिंसा र लागुपदार्थसम्बन्धी कारोबारविरुद्धको कारबाहीका कारण केही दशकयता देशका जेलमा बन्दीहरूको सङ्ख्या बढेको छ।

त्यहाँको भिडभाडले गर्दा अधिकारीहरूलाई विरोधी समूहलाई अलगअलग राख्न निकै गाह्रो भएको छ। खाना र सुत्ने सामानजस्ता सीमित साधनस्रोतलाई लिएर जेलभित्र उनीहरूबीच तनाव देखिने गरेको छ।
बिबिसी