दम, मिर्गौला, मधुमेह र मुटु रोगी बढे

साउन १०, काठमाडौ— नेपालमा नसर्ने रोगमध्ये सबैभन्दा बढी श्वासप्रश्वास अर्थात् दीर्घ दमरोगका बिरामी रहेको अध्ययनले देखाएको छ ।

प्रतिसय जनामा छ जना मानिस दमका रोगी देखिएका छन् भने त्यसपछि मात्र मिर्गौला, मधुमेहलगायतका रोग देखा परेको पाइएको छ । श्वासप्रश्वासपछि दीर्घ मिर्गौला रोगी, मधुमेह र मुटुरोग देखा परेको अध्ययनले देखाएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तीन वर्ष लगाएर नेपालका ७२ जिल्लामा अनुसन्धान गरेको थियो । परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमालले नसर्ने मुख्य रोगमध्ये सबैभन्दा बढी दीर्घ दमरोग देखिएको जानकारी दिए। उनले भने, “दमपछि मधुमेह, दीर्घ मिर्गौला रोग र मुटुरोग पनि समस्याका रूपमा देखा परेको छ । ”

परिषद्ले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सबैभन्दा बढी रोगी दमको भएको निष्कर्षसँगै तथ्याङ्क पनि दिइएको छ । प्राप्त तथ्याङ्कअनुसार २० वर्षदेखि ३९ वर्षसम्म छ दशमलव सात प्रतिशतमा दीर्घ दमरोग रहेको छ । यस्तै ४० देखि ५९ वर्ष समूहका मानिसमा १०.५ प्रतिशत जनसङ्ख्यामा दमरोग रहेको छ । साठी वर्षभन्दा माथिको जनसङ्ख्यामा भने २१.५ प्रतिशतमा दमरोग देखिएको छ । नेपालमा मधुमेहका रोगी पनि बढेका छन् ।

यो खबर गोरखापत्रमा छ ।