अवरुद्ध कोशी राजमार्गको दुहबी सडक खण्ड ६ घण्टापछि खुल्यो

साउन ६, काठमाडौं — प्रहरीले बल प्रयोग गरी कोशी राजमार्गको दुहबी खण्डमा अवरुद्ध सडक खुलाएको छ । सोमबार बिहानदेखि भएको भएको बन्द करिब ६ घण्टापछि प्रहरीले बल प्रयोग गरी खुलाएको हो ।

शुक्रबार नोबेल मेडिकल कलेजमा घुँडाको अप्रेशन गरेका सुनसरीको दुहबी नगरपालिका–६ का ५१ वर्षीय अनीलकुमार साहको आइतबार मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीका कारण साहको मृत्यु भएको आरोप लगाउँदै उपचारमा संलग्न चिकित्सकलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्त तथा स्थानीयले कोशी राजमार्गको दुहबी बजार खण्ड अवरुद्ध गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलको नेतृत्वमा आएको प्रहरी टोलीले जाम खुलाएको हो । । प्रहरीेले चक्काजाम खुलाएपछि यातायातका साधन सूचारु भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द फुयालले बल प्रयोग गर्नु पर्ने अवस्था नआएको बताए । बल प्रयोग गर्ने तयारी गर्दै गर्दा बन्दकर्ता सडकबाट हटेपछि सडक खुलाइएको उनले बताए ।

लापारबाही गर्ने चिकित्सबलाई कारवाहीको माग राख्दै उनीहरूले अस्पतालबाट शव उठाएका छैनन् । शुक्रबार हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीसहितको टोलीले शल्यक्रिया गरेको थियो ।

उता नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले उपचारको क्रममा अस्पतालले कुनै लापारबाही नगरेको दाबी गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा ‘हर्टअट्याक’ आएको उनको भनाइ छ ।