पाकिस्तानी प्रधानमन्त्रीको अमेरिका भ्रमणः रेल यात्रादेखि दूतावास बसाईको चर्चा

साउन ६, काठमाडौं— प्रधानमन्त्री बनेपछिको पहिलो अमेरिकी भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान एयरपोर्टबाट गन्तव्य तर्फ जानेक्रममा रेलको यात्रा गरेका छन् ।

तीन दिने औपचारिक भ्रमणमा अमेरिका गएका प्रधानमन्त्री खान पाँच तारे होटलमा नबस्ने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानलाई आर्थिक संकटबाट जोगाउन फजुल खर्च कम गर्ने उद्देश्यले प्रधानमन्त्री खान अमेरिका स्थित पाकिस्तानी राजदूतावासमा वास बस्ने भएका छन् ।

अमेरिका भ्रमणमा प्रधानमन्त्री खानले पाकिस्तानी एयरफोर्सको विमानसमेत प्रयोग गरेनन् । उनी सामान्य यात्रु झै कतार एयरवेजको नियमित उडानबाट अमेरिका पुगेका थिए ।

प्रधानमन्त्री खानले अमेरिकाको एक रंगशालामा पाकिस्तानी मूलका नागरिकलाई सम्बोधन गरेका छन् । उनले हजारौँ पाकिस्थानीका बीच देश भ्रष्टाचारका कारण आर्थिक संकटमा परेको बताए ।

इमरान खानको सानो टोली लिएर अमेरिका भ्रमण, हवाई यात्रा, रेल यात्रा, राजदूतवारको बसाई, पाकिस्तानी नागरिकलाई सम्बोधन चर्चाका मुख्य विषय बनेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ता भन्दा अन्य विषय चर्चामा छन् । अमेरिकामा राष्ट्रपति ट्रम्प लगायतका मन्त्रीसँग मंगलवार खानले भेटवार्ता गर्ने भएका छन् ।
एजेन्सी