कविता-“बुद्ध र सिटामोल”

  • प्रमोद स्नेही


पाठशाला भत्किएर
अक्षरहरु निभेको गाउँ बस्तीहरुमा
एक अन्जुली उज्यालो मागिरहेछन् ।
बुद्धहरु ।


हरेक बर्ष
पानीमा जिन्दगानी हराईरहेछन् ।
असंख्य बुद्धहरु
समयमा सिटामोाल नपाएर
मुत्यु बाँचीरहेछन् बुद्धहरु ।


सधैं–सधैं कन्दमूल भ्याकुर
र खाद्ययको कुहिएको
चामलको लाइनमा
भोकहरुले आक्रान्त हुँदै
अघाईरहेछन् बुद्धहरु ।


काम नपाएर बदनाम भएका
बौद्धिक बुद्धहरु
विस्तार –विस्तारै पलायन
हुँदैछन् ।
आन्दोलनमा क्षत–विक्षत
अंग प्रत्याङ्ग र शरीरमा
अझै देश जस्तै घाउ बोकेर
छटपटाईरहेछन् बुद्धहरु ।


स्वयम्भु -नमोबुद्ध विहार पछाडि
धुँवामा
उमेर र सपना उडाइरहेछन् ।
बुद्धहरु १
कर्सी÷ राजनीति ÷ भ्रष्टचारमा
निमग्न बुद्धहरु
अपहरण, हत्या, लुटपाट र
बलत्कार व्यस्त छन् ।
बुद्धहरु !

यसरी असंख्य, असंख्य
बुद्ध छन् ।
मेरो देशमा
यी असंख्य बुद्धबाट
म एउटा मान्छे खोजीरहेछु ।
मलाई बुद्ध होइन ।
मान्छे चाहिन्छ
तस्वीर र मूर्तिहरुमा ध्यानमग्न
बुद्ध होइन ।
योदेश हाँक्ने
यो देशको इज्जत राख्ने
यो असंख्य बुद्धको भिडबाट
एउटा मान्छे खोजीरहेछु ।
एउटा मान्छे खोजीरहेछु ।


अस्तु………….
पुतलीसडक – काठमाण्डौ