निर्माता छवि ओझाविरूद्ध श्रीमती शिल्पाले दिइन् घरेलु हिंसाको उजुरी

असार २५, काठमाडौं — निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन्।

अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि निर्माता ओझाले अभिनेत्री पोखरेलसँग २०७३ सालको दसैंमा विवाह गरेका थिए । विवाह गरे पनि उनीहरूले सो विवाहलाई तत्कालै सार्वजनिक गरेका थिएनन्। गत वर्षमात्र उनीहरूले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।

उनीहरू निकट स्रोतका अनुसार विगत केही समययता दुवैको वैवाहिक जीवनमा खटपट रहँदै आएको छ।

छविले शिल्पालाई ’लज्जा’ सिनेमाबाट ब्रेक दिएका थिए। त्यसयता उनले छविको ब्यानरमा ‘मंगलम्’ तथा ‘हवल्दार सुन्तली’मा अभिनय गरेकी थिइन। सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा चल्तीकी मोडल थिइन्।