गुठी बिधेयक पूर्ण रुपमा खारेज गर्न राप्रपाको माग

असार ८, काठमाडौं — राप्रपाले विवादास्पद गुठी विधेयक पूर्ण खारेजीको माग गरेको छ । राप्रपाको शनिबार र आइतबार केन्द्रीय कार्यसमितिको विस्तारित बैठकको निष्कर्ष निकाल्दै गुठी विधेयकले सनातन धर्म, संस्कृति, परम्परालाई नियन्त्रित र निषेध गर्न खोजेकाले कदापि स्वीकार्य हुन नसक्ने निर्णय गरेको हो ।

यस्तै संगठित र योजनाबद्ध तरिकाले धर्म परिवर्तन भइरहेकोमा पनि विस्तारित बैठकले चिन्ता व्यक्त गरेको छ । राप्रपाले सरकारलाई बुझाएको २२ बुँदे माग पूरा नभए दोस्रो चरणको संघर्ष सुरु गर्ने चेतावनी दिएको छ ।

अध्यक्ष थापाले अनुसन्धान र कारबाही गर्ने निकायहरूलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गर्ने, मिडिया काउन्सिल विधेयकमार्फत् आमसञ्चारमाध्यमलाई नियन्त्रणमा लिने र मानवअधिकार आयोगलाई निष्क्रिय बनाउने प्रयासलगायतले सरकारको सर्वसत्तावादको चरित्र स्पष्ट पारेको उल्लेख गरे।