विश्वकप क्रिकेटमा आयोजक इंग्ल्यान्डको भारी जीत

असार ४, काठमाडौं — विश्वकप क्रिकेटमा इंग्ल्यान्डको ठुलो जीत भएको छ । इंग्ल्यान्डले १५० रनको ठुलो अन्तरले अफगानिस्तानलाई हराएको हो ।यस खेलमा सबैभन्दा धेरै छक्का प्रहार, सबैभन्दा धेरै स्कोर र सबैभन्दा महंगो बलिङसम्मका रेकर्डहरु कायम भएको छ ।

यसअघि म्यान्चेस्टरमा इंग्ल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धा्रित ५० ओभरमा ६ विकेटको क्षतिमा ३९७ रन बनाएपछि अफगानिस्तानले ठूलो लक्ष्य पाएको थियो । इंग्ल्यान्डले ठूलो लक्ष्य दिनेक्रममा कप्तान इयोन मोर्गनले कीर्तिमानी ब्याटिङ गरे ।

सबैभन्दा वढि छक्का प्रहार गर्नेे विश्व रेकर्ड बनाएका मोर्गनले ७१ बलमा १४८ रन सहित १७ छक्का र चार चौका हानेका थिए । सबैभन्दा धेरै १६ छक्का प्रहार गर्ने रोहित शर्मा, क्रिस गेल र एबी डिभिलियर्सलाई समेत उनले पछि पारिदिएका छन् ।

३९७ रनको योगफल ४४ वर्षको विश्वकप इतिहासमा इंग्ल्याण्डको सबैभन्दा ठूलो स्कोर हो । सबैभन्दा ठूलो स्कोरको रेकर्ड अस्ट्रेलिया ४१७र ६ को नाममा छ ।

इयान मोर्गनले यस म्याचमा ७४ बलमा १४८ रन बनाए । उनले ५७ बलमा शतक बनाए । यो विश्वकपमा चौथो छिटो शतक बनाएको रेकर्ड हो । सबैभन्दा छिटो ५० बलमा शतक बनाएको रेकर्ड भने केभिन ओब्रायनको नाममा छ ।

इंग्ल्यान्डको उच्च स्कोर बनाउन जोनी बैरस्टोव र जोइ रुटले पनि उत्कृष्ट प्रदर्शन गरे । जोनीले ९० रन बनाए । ९९ बलको सामना गरेका उनले ८ चौका र तीन छक्का प्रहार गरे ।
उच्च रन बनाउन कप्तान मोर्गन र रुटले १८९ रनको साझेदारी गरी विश्वकपको इतिहासमा इंग्ल्याण्डले सबैभन्दा ठूलो पार्टनरसिप रेकर्ड राखेको छ । सन् १९७५ मा आयोजना भएको विश्वकपमा रेकर्ड डी एमिस र फ्लेचरले भारतविरुद्ध १७६ रनको साझेदारी गरेका थिए ।

मोइन अलीले ९ बलमा ३१ रन र रुटले ८२ बलमा ८८ रन बनाएका थिए ।

बलिङतर्फ अफगानिस्तानका दवलत जाड्रन र गुल्बादिन नाइबले समान ३,३ विकेट लिए । बलिङतर्फ अफगानिस्तानका राशिद खान असफल भए । उनले ९ ओभर बलिङ गर्दै ११० रन खर्चिए ।

विश्वकप क्रिकेटको ४४ वर्षे इतिहासमा यो सबैभन्दा महंगो बलिङ हो । यसअघि यस्तो अनौठो रेकर्ड न्युजिल्याण्डका मार्टिन स्नेडनको नाममा थियो । उनले सन् १९८३ मा इंग्ल्याण्डविरुद्ध १२ ओभरको स्पेलमा १०५ रन खर्चिएका थिए ।

Source: onlinekhabar