इंग्ल्यान्डलाई हराउदै नेदरल्यान्ड्स नेसन्स लिग फुटबलको अन्तिममा

जेठ २४, काठमाडौं —इंग्ल्यान्डलाई हराउदै नेदरल्यान्ड्स नेसन्स लिग फुटबलको अन्तिममा पुगेको छ । बिहीबार राति भएको खेलमा नेदरल्यान्ड्सले इंग्ल्यान्डलाई ३–१ गोलले हराएको हो ।

नेदरल्यान्ड्सले उपाधि जित्नका लागि अब पोर्चुगलसँग भिड्नुपर्ने छ । तोकिएको समयमा दुबै समुहको १–१ गोलको बराबरी खेल भएपछि अतिरिक्त समयमा नेदरल्यान्ड्सले थप दुई गोल गरेको थियो ।

इंग्ल्यान्डको तर्फबाट ३२ औ मिनेटमा मार्कोस राष्फोर्डले गोल गरेका थिए । तर दोस्रो हाफमा इंग्ल्यान्डले गोल खाएको थियो । म्याथिज डि लिटले ७३ औ मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ९७ औ मिनेटमा वाल्करको आत्मघाती गोलका कारण नेदरल्यान्ड्सले २–१ गोलले जितेको थियो । त्यसपछि एक सय १४ औं मिनेटमा प्रोमिसले फेरी अर्काे गोल गर्दै ३–१ गोलको जित दिलाए ।