जेठ २०, काठमाडौं — नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित विप्लव समूहले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको जनाएकोे छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहले यस्तो बताएको हो ।
विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रेस विज्ञप्ति जारी गर्दै गएराति सोलुखुम्बुमा विप्लव समूहका कार्यकर्ताले प्रहरी चौकीमा आक्रमण गरेको विषयको खण्डन गरेका हुन् ।
उनले विप्लव समुहको पार्टीले प्रहरी चौकीमा आक्रमण प्रयास गरेको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारवासीभएको प्रति ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत जनाए ।
प्रहरी चौकी आक्रमणको कुनै घटना नभएको बताउदै उनले पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरुप ‘फेक न्युज’ सार्वजनिक गराइएको पनि दाबी गरेका छन् ।
यसअघि गएराति सोलुखुम्बुको विकट क्षेत्र छेस्कामा प्रहरी चौकी आक्रमणको प्रयास भएको सार्वजनिक भएको थियो । प्रहरीले भने थप सुरक्षाका लागि हेलिकोप्टरमार्फत विपदको टोली सोलुखुम्बु पठाएको छ ।