जेठ २०, कावासोती — आइतबार साँझ आएको हावाहुरीले नवलपरासी विनयी त्रिवेणीमा एक बालिकाको ज्यान लिएको छ ।
हावाहुरीले घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको ज्यान गएको हो ।
जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले बताए । हावाहुरीका कारण अन्य केही व्यक्तिसमेत घाइते भएका छन् ।
हावाहुरीले विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुगेको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिए ।
हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।