चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकहरूलाई ४५ अर्ब ६७ करोड रुपैयाँ कमाई

वैशाख, ३१ काठमाडौं – वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो ९ महिना ४५ अर्ब ६७ करोड रुपैयाँ नाफा गरेका छन् । साउन देखी चैत्र सम्ममा यो नाफा गत वर्षको तुलनामा २० प्रतिशत बढी नाफा भएको देखिएको हो । गत आवको चैत्र मसान्तसम्म वाणिज्य बैंकहरूले ३८ अर्ब ६ करोड नाफा कमाएका थिए ।

नेपालमा सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकमध्ये २६ वटाको तीन त्रैमासको नाफा अर्ब रुपैयाँभन्दा माथि रहेको छ । सबैभन्दा बढी नाफा आर्जन गर्ने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको छ। नबिल बैंकले तीन अर्ब १९ करोड र नेपाल इन्भेस्टमेन्ट बैंकले दुई अर्ब ५७ करोड नाफा गरेका छन् । यसैगरी एनआईसी एसिया बैंकको दुई अर्ब २८ करोड र नेपाल बैंकको दुई अर्ब २५ करोड रुपैयाँ नाफा कमाई भएको हो ।

तेस्रो त्रैमाससम्म १४ बैंकको स्प्रेडदर ४.५ प्रतिशतभन्दा माथि रहेको छ । त्यस्तै, चैत मसान्तमा बैंकको आधार ब्याजदर घटेको छैन । सबैभन्दा कम आधार ब्याजदर राष्ट्रिय वाणिज्य बैंकको ५ दशमलव ३८ प्रतिशत छ । जनता बैंकको सबैभन्दा उच्च ११ दशमलव ६६ रहेको छ ।

चालु आवको पहिलो नौ महिनामा एक खर्ब ६१ अर्ब वृद्धि भइ २६ खर्ब ३१ अर्ब वाणिज्य बैंकको निक्षेप संकलन रकम हो । ऋण लगानी दुई खर्ब ५९ अर्ब वृद्धि भई २३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।