सहमति विपरीत मधेसकै गतिविधिमा सक्रिय राउत

फागुन २७, काठमाडौ — नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रविबद्धता जनाउँदै सहमतिमा हस्ताक्षर गरेको ४८ घण्टा बित्न नपाउँदै सिके राउतको समूहले स्वतन्त्र मधेसको झन्डा र ब्यानरसहित सार्वजनिक कार्यक्रम गरेको छ ।
आइतबार जनकपुर पुगेका राउतलाई समर्थकले स्वतन्त्र मधेसको नारा लगाउँदै स्वागत गरेका छन् ।
राउतलाई स्वागत गर्न उनका समर्थक आइतबार बिहानै जनकपुर विमानस्थल पुगेका थिए । कालो ज्याकेट, कालो चस्मा र मास्क लगाएर लाइन लागेका राउतका कार्यकर्ताले विमानस्थल भरिएको थियो । भिआइपी कक्ष, ढोका र परिसरसम्मै उनका कार्यकर्ता तैनाथ थिए ।
सिरहा, सप्तरीलगायत जिल्लाबाट आएका कार्यकर्ताले जनकपुरमा स्वतन्त्र मधेसको पक्षमा विभिन्न नारा लगाएका थिए ।