कौशल्टारमा भीषण आगलागी, छ करोडको क्षति

फागुन २० काठमाडौ — (रासस) । मध्यपुरथिमि नगरपालिका–३ कौशल्टारमा स्थानीय राजु श्रेष्ठले वर्षौंदेखि सञ्चालन गर्दै आउनुभएको श्रेष्ठ फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । गए राति ११ बजे लागेको आगो आज बिहान ४ बजे नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

भक्तपुर जिल्लाकै ठूलो फर्निचर उद्योगको रुपमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा रहेका स्वदेशी तथा विदेशी फर्निचर, मेशिन, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थ लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु छ करोड बराबरको क्षति भएको छ । प्रहरी उपरीक्षक श्रेष्ठले आगलागीबाट उद्योगमा रहेका सम्पूर्ण तयारी फर्निचर, मेशिन तथा कच्चा पदार्थ जलेर नष्ट भएको बताए ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भक्तपुर बारुणयन्त्र, ललितपुर, काठमाडौँ, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका गरी छ वटा दमकल, स्थानीय बासिन्दालगायतको सातवटा पानी ट्याङरको सहयोगमा आज बिहान ४ बजे आगो नियन्त्रणमा आएको हो ।