युरोपको आकाशमा उड्न लगाइएको नेपाली जहाजमाथीको प्रतिबन्ध कामयै, अझै केही समय हटाउन नमिल्ने ईयूको निष्कर्ष

फागुन ५, काठमाडौं – युरोपका आकाशमा उड्न लगाइएको नेपाली जहाजमाथीको प्रतिबन्ध अझै केही समय नहट्ने भएको छ ।

शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, मन्त्रालयका उच्च अधिकारी, युरोपेली युनियन (इयू)का दूत, फ्रान्सका राजदूत, नागरिक उड्डयन प्राधिकरणका उच्च पदाधिकारीबीच भएको छलफलमा इयूले तत्काल कालोसूचीबाट हटाउन नमिल्ने निष्कर्ष निकालेको हो ।

अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सन् २०१३ मा नेपाललाई कालोसूचीमा राखेपछि यूले सन् २०१३ को डिसेम्बरदेखि युरोपको आकाशमा नेपाली जहाजलाई उड्न प्रतिवन्ध लगाएको थियो ।

आइकाओको कालोसूची अघिल्लो वर्षै हटिसकेको र उड्डयन क्षेत्रमा नेपालले सुधार गरेकाले इयूले पनि हटाउने अनुमान गरिएको थियो । तर, पछिल्लोपटक मंसिर १५ गते इयूले सार्वजनिक गरेको उडान प्रतिबन्ध गरिएका देशको सूचीमा नेपाललाई हटाएन ।

प्राधिकरणलाई नियमनकारी र सेवा प्रदायक छुट्टै नबनाएको भन्दै कालोसूचीबाट हटाउन नमिल्ने बताइएको छ । प्राधिकरणलाई ऐन बनाएर नियामक र सेवा प्रदायकमा छुट्ट्याउनुपर्ने गरी ऐनको मस्यौदा तयार भइसकेको मन्त्रालयका प्रवक्ता धनश्याम उपाध्यायले बताएका छन् ।

प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायमा छुट्ट्याउन अझै एक वर्ष लाग्न सक्छ मन्त्रालयले जनाएको छ । यसले इयूको कालोसूचीबाट नेपाल अझै एक वर्ष नहट्ने निश्चत भएको छ ।