गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न, आगामी असारदेखी सञ्चालन हुने

माघ २४, भैरहवा – रुपन्देहीको भैरहवामा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नयाँ वर्ष २०७६को असारदेखि सञ्चालन हुने भएको छ । २०१४ डिसेम्बरबाट सुरु गरिएको तिव्र गतिमा निर्माणधिन गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल असारमा परीक्षण उडान गर्ने तयारी गरिएको हो ।

विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न भईसकेकाले विचमा कुनै अवरोध सिर्जना तोकिएको समयभन्दा पहिल्यै नै विमान उडाउने योजना बनाएको विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए । राष्ट्रिय गौरवको आयोजनामध्ये एकको रुपमा लिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल असार १३ गते परीक्षण उडान गर्ने तयारी भईरहेको छ ।

तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको मुख्य धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइमा ट्याक्सी वेसहितको विमानस्थलमध्ये चार तहमा गर्नुपर्ने कालोपत्रेको दुई तहको कालोपत्रे पूरा गरी तेस्रो तहको करिब ३० प्रतिशतभन्दा बढी काम भईसकेको छ । यसको मोटाई एक फिट हुनेछ ।

अबको १० दिनमा तेस्रो तहको कालोपत्रे पुरा गरी अन्तिम तहको कालोपत्रे १५ दिनभित्र सम्पन्न गर्न निर्माण पक्ष लागिरहेको छ ।

प्रस्थानतर्फको ढलानको काम र विमानस्थलको एपरोन (विमान पर्किङ) को काम पुरा भईसकेको छ । टर्मिनल भवन र प्रशासनिक भवनको प्लास्टर गरी टायल–मार्बल बिछ्याउने काम पनि भइरहेको छ साथै कन्ट्रोल टावरको अन्तिम तलाको काम, विद्युत सबस्टेसन, अग्नि नियन्त्रक कक्ष, पानीट्यांकी, सुरक्षाकर्मी आवासगृह निर्माणको पनि भइरहेको निर्माण पक्षले दावी गरेको छ ।

१० हजार रोपनीमा फैलिएको विमानस्थलमा राडर, सुरक्षा, ह्यांगर, आयल निगम डिपो, अध्यागमन, मर्मत सम्भार क्षेत्र, क्याटरिङ, पार्किङ स्थल र अझै एउटा टर्मिनल भवन निर्माणको काम बाँकी छ ।

विमानस्थलको काम पुरा भएपछि आगामी वर्षदेशी अन्तराष्ट्रिय उडान भर्ने दावी गरिरहेको यस विमानस्थलमा त्रिभुवन विमानस्थलमा आउने एयर बस ३३०, बोइङ ७७७ लगायतका जहाज पनि यहाँ अवतरण गर्न सक्नेछ ।

६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा सम्झौता गरी सुरु गरिएको आयोजनाको लागत अहिलेसम्म ९.६२ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ४० लाख ८६ हजार आठ सय ८४ रुपैयाँ ३२ पैसा पुगेको छ । अझै केही काम थप भएकाले लागत बढ्ने आयोजनाले बताएको छ ।

सन २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको यस विमानस्थल अहिलेसम्म दुईपटक म्याद थप भइसकेको छ । सन २०१८ को जुन १५ सम्म सम्पन्न गर्ने लक्ष्यसहित पहिलोपटक म्याद थपिएको थियो । सो अवधिमा काम सम्पन्न हुन नसक्दा सन २०१९ को जुन २८ सम्म सम्पन्न गर्ने गरी दोस्रोपटक म्याद थपिएको छ ।