माघ १६ गते सरकारले दिने भनेको सार्वजनिक विदा अलपत्र

माघ १५, काठमाडौं —शहिद दिबसलाई मध्य नजर गर्दै प्रदेश सरकारले दिने भनेको सार्वजनिक विदा अलमलमा परेको छ । अघिल्लो साता नै निर्णय गरेको सार्वजनिक विदाको बारेमा केन्द्र सरकारसँग तालमेल नमिलेका कारण अलमलमा परेको हो ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भोलीका विदाका बारेमा केही थाहा नभएको बताए । गृह प्रवक्ता सुवेदीले प्रदेश सरकारले यस विषयमा गृह मन्त्रालयलाई कुनै जानकारी नआएकाले सबै सरकारी कार्यालय खुल्ने बताए ।

तर प्रदेश सरकारका गृहमन्त्री शालिकराम जमरकट्टेलले भने बिदा दिने निर्णयको बोधार्थ प्रधानमन्त्री कार्यालयलाई पठाइसकिएको बताएका छन् । उनले प्रदेश अन्तरगतका कार्यालय बुधबार नखुल्ने जानकारी गराए ।

उता काठमाडौं महानगरले भने प्रदेशले दिएको बिदालाई स्वीकार गरेको छ । आजै बसेको बैठकले भोलि महानगर अन्तरगतका कार्यालय र स्कुल–कलेजमा बिदा दिने निर्णय गरिएको काठमाडौं महानगरपालिकाले जानकारी गराए ।