पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइराला बर्खास्त

माघ ७, काठमाडौं -पूर्वाधार विकास बैंकका अध्यक्ष डा. विमल कोइरालालाई बर्खास्त गरिएको छ । अर्थमन्त्री युवराज खतिवडाको दबाबमा पूर्वाधार विकास बैंकका अध्यक्ष डा. कोइरालालाई बर्खास्त गरिएको हो ।

बैंक स्थापनाका लागि सबै प्रक्रिया पूरा गरी राष्ट्र बैंकबाट अनुमति लिने क्रममा कोइराला पदमुत्त गरिएका हुन् । गत बुधबारको सञ्चालक समिति बैठकले कोइरालालाई पदमुत्त गर्ने निर्णय गरेको थियो । बैंकका अध्यक्षमा अनुज अग्रवाललाई नियुक्त गरिएको छ ।

‘करिब साढे तीन वर्षसम्म बैंक स्थापना गर्न भन्दै अहोरात्र खटिएका आफूलाई हटाईएको कोइरालाले बताए । पूर्व मुख्यसचिवसमेत रहेका कोइरालाले भने, ‘यसको बारेमा समय आएपछि बोल्छु ।’ उनलाई कांग्रेस नेतृत्वको सरकारले अध्यक्षमा नियुक्ति गरेको थियो ।

सरकारको १० प्रतिशत सेयर र निजी क्षेत्रबाट ९० प्रतिशत लगानी जुटाउने गरी दर्ता गरिएको पूर्वाधार विकास बैंकलाई सरकारले आफू अनुकूल व्यक्तिलाई नियुक्त गरेको उनले बताए ।

२० अर्ब रुपैयाँ चुक्ता पुँजीसहित उक्त बैंकको स्थापना गर्न लागिएको छ । बैंकले ४५ प्रतिशत रकम जम्मा गरेपछि राष्ट्र बैंकले सैद्धान्तिक रुपमा स्वीकृति दिएको थियो । केही महिनाअघि मात्र सरकारले उक्त बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवालीलाई नियुक्त गरेको थियो ।

पूर्वाधार विकास बैंकले २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्ने योजना बनाएको छ । २० अर्बको ६० प्रतिशत अर्थात् १२ अर्ब रुपैयाँ संस्थापकको सेयर रहनेछ ।

बैंकले १२ अर्बको ४५ प्रतिशत अर्थात् पाँच अर्ब ४० करोड रुपैयाँ जम्मा गरेका कारण सैद्धान्तिक स्वीकृति पाएको हो । बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ । सुरुका चरणमा बैंक सञ्चालक समितिमा सरकारी प्रतिनिधिसहित सात जना सदस्य रहने प्रस्ताव गरिएको छ ।