संघीय समाजवादी फोरमका अध्यक्ष तथा ओली सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव मधेसविरोधी भएको आरोप

माघ ६, बारा – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा ओली सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादव मधेसविरोधी भएको आरोप लागेको छ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा ओली सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई मधेसविरोधी भएको आरोप लगाएको हो ।

नेपाली कांग्रेस नगर कार्य समिति महागढीमाई नगरपालिका बरियारपुरले गढीमाई मन्दिर क्षेत्रमा शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले उपेन्द्र यादवले मधेसीको हक अधिकारभन्दा निजी स्वार्थमा लागेर मधेसविरोधी काम मात्रै गरेको आरोप लगाएका हुन् ।

डा. शेखर कोइरालाले मधेसबाटै राजनीति गरेका यादवले मधेसी समुदायको मान र सम्मानलाई विर्सेर ओलीको नेतृत्वको सरकारमा गएको आरोप लगाए ।
ओली सरकारले गरेको लोकतन्त्र र जनताको मर्म विपरीत काममा उपेन्द्र यादवले समर्थन गरिरहेको उनको आरोप छ ।

साथै उनले २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र २०७२ सालमा संविधान घोषणा गरेका तत्कालीन प्रधानमन्त्री शुशील कोइरालको नाममा खोलिएको अस्पताल समेत बन्द गरेर ओली सरकारले देशमा तानाशाही लाद्न खोजेको आरोप पनि लगाए।

त्यसैगरी निर्मला पन्तको हत्यारालाई अहिलेसम्ममा सार्वजनिक गर्न नसकेको, वाइड वडी खरिद प्रकरणमा साढे चार अर्बको भ्रष्टाचार भए पनि कारावहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई फाइल बुझाउन नसकेको लगायतका आरोपहरु डा. शेखर कोइरालाको छ ।