डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर, एन्टिबायोटिक औषधि चलाईदै

माघ ५, काठमाडौं —१० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको हो ।

इलाममा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै बिहीबार राति हेलिकोप्टरमार्फत काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ।

अस्पतालका निर्देशक डा. प्रेम खड्कले भने, केसीको ‘स्वास्थ्य गम्भीर भएको उपचारमा संलग्न मेडिकल टोलीले जानकारी गराएको छ । ’ खड्काका अनुसार केसीको रगतमा ग्लुकोज र फोस्फोरसको मात्रा घटेको छ । फोक्सोमा पनि संक्रमण भएपछि एन्टिबायोटिक औषधि चलाइएको छ । शरीरमा अक्सिजनको मात्रा र रक्तचाप पनि घटेको छ ।

केसीको उपचारका लागि त्रिवि शिक्षण अस्पतालका चिकित्सकको एक टोली तयारी अबस्थामा छ । उपचार टोली संयोजकमा आइसियू तथा क्रिटिकल केयर विशेषज्ञ डा. सुवास आचार्य छन ।