माघे संक्रान्ति पर्व : नुवाकोटमा विशेष, ५१ हल गोरु जुँधाईदै

नुवाकोट– आज माघे संक्रान्तिका दिन नुवाकोटमा यस वर्ष पनि ५१ हल गोरु जुधाईदै छ । नुवाकोटको तारुका, बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा वर्षेनी माघे संक्रान्तिका दिन गोरु जुधाउदै आइएको हो । यसवर्ष शिवपुरी गाउँपालिकाको शेरा बगर र लिखु गाउँपालिकाको कट्टि छापमा पनि गोरु जुधाउन लागिएको छ ।

तार्केश्वर गाउँपालिका वडा नम्बर ३ तारुकामा “तारुकाको पौरख नेपालको गौरव” भन्दै २३ हल गोरु जुधाउन लागिएको हो । यसका लाति सबै तयारी पुरा भईसकेको माघेसंक्रान्ति गोरुजुधाई संरक्षण सस्थाका सचिव केशव रिमालले बताए ।

मेला स्थलमा सवारी पार्किङ, स्वच्छ खानेपानी, सुपथ मूल्यमा खाना तथा खाजाको व्यवस्था, शौचालयकोे व्यवस्था पनि गरिएको तार्केश्वर—२ का वडा अध्यक्ष समरबहादुर आले मगरले जानकारी दिए । तारुकाको गोरु जुधाई मेलाको उद्धघाटन युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गर्ने २ का वडा अध्यक्ष समरबहादुर आले मगरले बताए ।

बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा राजकुमार जयपृथ्वीबहादुर सिंहको उपस्थितीमा विक्रम सम्वत १८ सय ८७ सालदेखि सुरु भएको गोरु जुधाई मेला महोत्सवलाई २०६२ सालदेखि स्थानीय युवाहरुले सस्कृतिको संरक्षण तथा पर्यटन प्रबर्द्धनको लागि व्यवस्थित रुपमा गोरु जुधाई पर्व मनाउँदै आएका छन् ।

बझांङ्गी राजकुमार जयपृथ्वीबहादुर सिंह मावली गाउँ तारुका आउँदा उनलार्ई रमाईलो गराउन गोरु जुधाइएकोले यसैलाई पछि निरन्तरता दिँई अहिले संस्कृति, परम्परा र पर्यटन प्रबर्द्धनसंग जोडेर व्यवस्थित रुपमा मनाउन थालिएको हो ।

यस्तै नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० (नुवाकोट र रसुवाको संगम स्थल) बेत्रावतीमा ८ हल गोरु जुधाईने तयारी गरेको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।

विक्रम सम्वत १८ सय ४९ मा भोट र नेपालबीचको व्यापार सन्धीको खुसियालीमा सुरु गरिएको यो गोरु जुधाई मेलालाई पनि संस्कृति र परम्परा धान्नको खातिर मनाइएको छ ।

यस्तै पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घलेभञ्जयाङ (पिपलडाडा) मा ८ हल गोरु जुधाइने भएको छ । शिवपुरीको महाकाली कृषि सहकारी सस्था लिमिटेडले ६ हल गोरु जुँधाउने भएको छ । कृषि सहकारी सस्थाका अध्यक्ष मधुप्रसाद पोखरेलले गोरु जुधाई प्रतियोगितामा पहिलोलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई ३ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको बताए ।

यस्तै लिखु गाउँपालिका वडा नम्बर ३ कट्टिछापको मगर संघले गोरु जुधाउनको लागि ६ हल गोरु तयार गरेको बताइएकोछ ।