माथिल्लो तामाकोशीको आजको शेयर कारोवार रद्द

पुष ३०, काठमाडौं -माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको शेयर कारोवार रद्द भएको हो । आवश्यकभन्दा बढी कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले बताए ।

आइतबारदेखि दोस्रो बजारमा सुरु भएको कम्पनीको शेयर कारोवार सुरुआती चरणमा प्रतिकित्ता २२४ रूपैयाँ सम्म तोकिएको थियो । तर बजार खुल्ने बित्तिकै आज २ लाख ४३ हजार कित्ता शेयर खरिदको लगानी देखिए । खरिद गर्नेको संख्या ह्वात्तै बढ्यो तर बिक्री गर्न चाहने भने एक जना पनि देखिएको थिएन ।

तर प्राविधिक समस्याका कारण माथिल्लो तामाकोशीको शेयरमा उच्च अङ्कले वृद्धि हुन पुग्यो । बजार खुल्दा सो कम्पनीको शेयर ११२ ले वृद्धि भई रु ३३६ पुगेको थियो । स्टकले भने सीमाभन्दा बाहिर गएर भएको कारोवार रद्द भएको जनाएको छ ।