राष्ट्रपति भण्डारीद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण, राप्रपा अध्यक्ष कमल थापा खुशी

पुस२७, काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन् । पृथ्वी जयन्तीको अवसरमा उनले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन् । राष्ट्रपति विद्या भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा खुशी भएका छन् ।

पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने र सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थापाले सिंहदरबार अगाडिको पृथ्वी शालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण गरेपछि आफूलाई खुशी लागेको बताएका हुन् ।

राष्ट्रप्रमुख भण्डारी आफै उपस्थित भएर पृथ्वीनारायण शाहको शालिक माल्यार्पण गर्दा राजकीय सम्मान प्राप्त भएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रपति भण्डारीलाईधन्यवाद पनि दिए ।

पृथ्वी जयन्तीलाई सार्वजनिक विदा र राष्ट्रिय पर्वको सरकारले घोषणा नगरे पनि आंशिक मान्यता पाएको बताउदै राप्रपा अध्यक्ष कमल थापाले ‘आगामी वर्षसम्म सरकारले पूर्ण रुपमा स्वीकार गरी निर्णय लिनेमा विस्वस्त भएको बताए ।

थापाले पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिक व्यवस्था र राजसंस्थासँग जोडेर हेर्न नमिल्ने बताउदै ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान राजनीति भन्दा माथि रहेको उल्लेख गरे ।

शुक्रबार सिंहदरबार अगाडिको राष्ट्रपति विद्या भण्डारी सहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए ।

त्यसैगरी पृथ्वी जयन्तीको अवसर पारी राप्रपाले काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका नेताहरु सहभागी भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रिपरिषदका सदस्यहरु र मधेस केन्द्रित दलका नेताहरु भने राप्रपाको चियापान कार्यक्रममा सहभागी भएनन् ।