नेपालमा संघीयताका अवसर र चुनौतीहरु ‘पुस्तक’ : संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको मार्गचित्र यस पुस्तकका सारहरु हुन् ।

काठमाडौं –

दामोदर रेग्मी, बौद्धिक क्षेत्रको लागि चीर परिचित नाम हो । उनी संघीयता विषयका समीक्षक, विश्लेषक र कुशल प्रशिक्षक समेत हुन् । नेपाल सरकारको सह सचिव पदमा कार्यरत रेग्मीसंग विभिन्न निकायको अनुभव छ र उनी सुधारवादी प्रशासकका रुपमा समेत चिनिन्छन् । उनका संघीयता, सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक प्रशासनका विषयमा पुस्तक र विभिन्न लेखहरु प्रकाशित भएका छन् । इमेलखवर डटकमको विचार स्तम्भका नियमित लेखक समेत रहेका रेग्मीको भर्खरै प्रकाशित पुस्तक नेपालमा संघीयताका अवसर र चुनौतीहरुको सेरोफेरोमा रहेर गरिएको अन्तरवार्ताको अंश

१. नेपालमा संघीयताका अवसर र चुनौतीहरु नामक पुुस्तक भर्खर प्रकाशित गर्नुु भएको छ । यो पुुस्तक पाठकले किन पढ्ने ?
मूलतः स्थानीय तहका पदाधिकारीहरु, लोक सेवा आयोग, अन्य प्रतिष्ठान, संघ संस्थानका प्रतिस्पर्धात्मक परीक्षाको तयारीमा रहनु भएका परीक्षार्थीहरु, विश्व विद्यालयको विभिन्न तहमा अध्ययन गरिरहनु भएका विद्यार्थीहरुको आवश्यकतालाई पुरा गर्ने उद्देश्यका साथ प्रकाशित गरिएको हो । यसर्थ उपरोक्त समूहका पाठकवर्गको लागि यो पुस्तक उपयोगी वन्नेछ । संघीयताको व्यवहारिक पक्षको वारेमा जानकारी दिने यस पुस्तक विभिन्न विषयमा चासो राख्ने समस्त बौद्धिक वर्गको लागि समेत उपयोगी सावित हुने लक्ष्य लिएको छ । यो पुस्तक उक्त सम्बध्द क्षेत्रको लागि पठनीय र संग्रहणीय दुवै छ ।

२.यो समयमा नै पुुस्तक किन ल्याउनुु भयो ?
समयसीमा तोकेर वा यो समयमा नै पुस्तक वाहिर ल्याउने योजना होइन । तथापि संघीयता प्रयोगको क्रममा रहेको तर यसका वारेमा एकीकृत पाठ्यसामग्रीको अभाव, संघीयतालाई सकारात्मकता वा नकारात्मकताको आयाममा मात्र बुझ्ने प्रवृत्ति रहेको छ । प्रबुद्ध पाठकवर्ग र शुभेच्छुकहरुको उत्प्रेरणा र अपेक्षा लाई पूर्ति गर्नु पर्ने मेरो दायित्व निर्वाहको सार्थक परिणाम यो पुस्तक हो साथै ऐश्वर्य प्रकाशन सम—सामयिक विषयमा एउटा निश्चित कार्ययोजनाका साथ अगाडी वढिरहेको सन्दर्भमा यो समय जुर्न पुग्यो ।

३.पुुस्तकमा समेटिएका विषयवस्तुुको कसरी प्रस्तुुती गर्नुु भएको छ ?
पुस्तकमा १८ शीर्षकमा राखिएका छन् । संघीयताको संवैधानिक व्यवस्था, यसका संरचनाहरु, सुशासन समृद्धि र जनअपनत्व निर्माणमा संघीय संरचनाको भूमिका जस्ता विषयहरु समेटिएका छन् । यसको अतिरिक्त वित्तीय संघीयता, सार्वजनिक वित्त व्यवस्थापन, वित्तीय संघीयताको अपरिहार्यता यसको सफलताका सीमाहरु, संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको मार्गचित्रको प्राप्तिमा संघीय शासन प्रणालीको भूमिका विषयहरुलाई समेटिएका छन् । यसै गरि संघीयतामा विकास रणनीति, जनमुखी र व्यवसायिक प्रशासन, जनताका अपेक्षा र संघीय शासन प्रणाली वीचको अन्तर सम्बन्ध, संधीयताका अवसरहरु र चुनौतीहरु लगायत अन्य सामयिक विषयहरु समावेश भएका छन् ।

४. यो कितावको मूल सार के हो ?
कुनै पनि शासन प्रणाली राम्रो वा नराम्रो हुदैन यसको प्रयोग कसरी हुन्छ र जनताले शासन प्रणालीको अनुभूति कसरी गर्न सक्दछन् त्यसवाट मात्र शासन प्रणाली राम्रो वा नराम्रो हुन्छ । हरेक अवसरसंग चुनौती र हरेक चुनौतीसंग अवसर संगै आइरहेका हुन्छन् यो नियम संघीयताको सन्दर्भमा पनि लागू हुने गर्दछ ।

५.पुुस्तक पढेर पाठकले के कुुरा सिक्ने छन ?
नेपालको पछिल्लो राजनैतिक परिवर्तनबाट देशले संघीय शासन प्रणाली अवलम्बन गर्न पुगेको छ । संघीय शासन प्रणाली वढी प्रजातान्त्रिक र सहभागितामूलक हुन्छ । संघीयताले लोकतन्त्र र शासकीय अभ्यासमा सर्वसाधारणको सहभागिता र अवसरको सुनिश्चितता गर्ने संयन्त्र मात्र होइन समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विविधता लाई पनि सम्बोधन गरी शासन प्रणाली प्रति जन अपनत्व जुटाउने उद्देश्य राखेको हुन्छ । यस अर्थमा संघीय शासन प्रणालीवाट जनताले धेरै आशा र अपेक्षा राख्न सक्दछन् । संघीय शासन प्रणालीका आदर्श चरित्रका कारणले नै यस प्रति सर्वसाधारणको सकारात्मक चासो रहनु स्वभाविकै हो । हरेक अवसर संग चुनौती र हरेक चुनौती संग अवसर आवद्ध हुनु यो प्राकृतिक नियम नै हो यो नियम संघीयताको सन्दर्भमा पनि लागू हुने गर्दछ । संघीयताका यी अवसरहरुको उपयोग क्षमता तथा चुनौतीहरुको न्यूनीकरण क्षमता बढाउनु हामी सवैको साझा दायित्व हो र यो साझा दायित्व निर्वाह गर्न सम्बद्ध सवै पक्षको वीचमा समूहिक सहकार्यको आवश्यकता छ ।